गण्डकी खबर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतका मन्त्रीहरूलाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास फर्किनु भएको छ ।
मन्त्री निवास पुल्चोकमा भएको भेटमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ सहित मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उहाँकै निवास खुमलटारमा भेटेर ओली गृहमन्त्री थापालाई भेट्न पुल्चोक पुग्नुभएको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले सामाजिक संजाल ट्विटरमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको भेटवार्तापछि मन्त्री निवास पुल्चोक पुगेको बताउँनु भएको छ ।
थापा निवास पुग्नु अघि शनिबार प्रधानमन्त्री अर्का अध्यक्ष दाहाललाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको थियो । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उहाँ प्रचण्ड निवास पुग्नुभएको हो ।
दाहालका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार उहाँहरुबीच केहीबेर एक्लाएक्लै छलफल भएको थियो । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ ।
यसैबीच पार्टीका नेता बामदेव गौतम पनि दाहाल निवास पुग्नु भएको थियो । भोलि आइतबार स्थायी कमिटी बैठक डाकिएको छ । नेकपाभित्र चर्किएको विवाद समाधान हुन नसकिरहेको बेला शीर्ष नेताहरूबीच भेटवार्ता तीव्र भइरहेको छ ।