
गण्डकी खबर । संघीय संसद सचिवालयले पुष ५ गते अपरान्ह ३ः३० बजे अविश्वासको प्रस्ताव दर्ता भएको भन्दै यस अघि विभिन्न संचार माध्यममा आएका समाचारको खण्डन गरेको छ ।
सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सभामुख समक्ष पेश गरी कार्यव्यवस्था शाखा (प्रतिनिधि सभा) मा दर्ता हुने प्रचलन रहेको जानकारी दिनु भएको छ ।
पाण्डेका अनुसार पुष ५ गतेका दिन पनि अविश्वासको प्रस्ताव सभामुखलाई सम्बोधन गरी विधिवत रुपमा पेश भइ तोक आदेश भएपछि सोही दिन अपरान्ह ३ः३० बजे दर्ता भएको थियो ।
अविश्वासको प्रस्तावको दर्ता समयलाई लिएर विभिन्न संचार माध्यममा आएको समाचारको सम्बन्धमा ध्यानाकर्षण भएको पनि विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोही दिन बिहान मन्त्री परिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटनको सिफारिस राष्ट्रपति विद्या भण्डारीसमक्ष गर्नु भएको थियो ।
तर विभिन्न संचार माध्यमहरुले प्रधानमन्त्रीले विघटनको सिफारिस गर्नु अगावै प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको तथ्य अगाडि ल्याएका थिए ।