गण्डकी खबर । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश कमिटीले प्रतिनिधि सभा विघटन असंवैधानिक र स्वेच्छाचारी भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने जनाएको छ ।
प्रदेश कमिटीको पुष ११ मा पोखरामा भएको विस्तारित बैठकले संविधानको रक्षा गर्नका लागि लोकतन्त्र पक्षधर सबै शक्तिहरु एकजुट भएर अघि बढ्न पर्नेमा पनि जोड दिएको छ । कमिटीका अध्यक्ष हितराज पाण्डेको अध्यक्षतामा पार्टीका स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल तथा नेतृ यशोदा सुवेदीको विशेष उपस्थितिमा प्रदेशको बैठक बसेको थियो ।
सो बैठकमा प्रदेश कमिटीका २१६ जना सदस्य मध्ये ११० जना सदस्यहरु प्रत्यक्ष उपस्थित रहेका जनाइएको छ । बैठक बारे जानकारी दिन आज सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पुष १२ गतेदेखि पहिलो चरणका संगठन र संघर्षका कार्यक्रमलाई प्रदेशका सबै जिल्लामा संचालन गरिने जानकारी दिइएको छ । कमिटीका अध्यक्ष पाण्डेका अनुसार प्रदेश सभा र स्थानीय तहमा कार्यरत जनप्रतिनिधिहरुका भेला र प्रशिक्षण कार्यक्रम पनि तय गरिएको छ ।
पाण्डेले देश संकटग्रस्त अवस्थामा गुज्रिरहेको भन्दै जनयुद्ध, जनआन्दोलन र विविध संघर्षको बलमा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको बताउनु भयो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पार्टीको स्थायी कमिटीको बैठक बसिरहेका बेला पार्टीको छलफल र निर्णय नगरी प्रतिनिधि सभा विघटन गरेको पनि उहाँले बताउनु भयो ।
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी बैशाखमा निर्वाचन घोषणा गर्नुभएको छ ।