
गण्डकी खबर । सरकारले संसद् विघटन गरेको विरोधमा नेपाली काँग्रेसले सोमबार कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।
कास्की काँग्रेसको समन्वयमा क्षेत्रीय समितिको आयोजनामा जिल्लाका ३ निर्वाचन क्षेत्रमा फरक फरक प्रदर्शन गरिएको हो । कास्की क्षेत्र १ को अर्घाैंचोक, क्षेत्र २ को सभागृहचोक, क्षेत्र ३ को पोखरा जिरो किलोमिटर तथा हरिचोकबाट प्रदर्शन शुरु गरिएको थियो ।
क्षेत्र १ को तालचोकमा, २ को सिमलचौरमा र ३ को बागलुङ बसपार्कमा विरोध सभा भएको थियो । वक्ताहरुले ओली नेतृत्वको सरकारले चालेको असंवैधानिक कदमका विरुद्ध नेपाली काँग्रेस सडकमा आएको बताएका थिए । तालचोकको विरोधसभामा बोल्दै पूर्व सभामुख एवं काँग्रेसका महामन्त्री तारानाथ रानाभाटले कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि ठाडो अपहरण गरेको टिप्पणी गर्नुभयो । सरकारको स्थीरताका लागि जनताको दुइतिहाइको अभिमत धोखा भएको आरोप लगाए । पार्टीभित्रको विवादलाई लिएर लोकतन्त्र नै धरापमा पर्न गएको रानाभाटको भनाइ थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद्को विघटनको असंवैधानिक कदम, सरकारका पछिल्ला गतिविधिको बिरुद्ध र संविधानको रक्षाको लागि विरोध प्रदर्शन गरेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिनुभयो । उनका अनुसार क्षेत्रगत रुपमा प्रदर्शन गरिएकोमा सम्बन्धित क्षेत्रका नेता तथा कार्यकर्ता आफ्नै क्षेत्रको प्रदर्शनमा सहभागी थिए । उहाँले सबैले अहिले सर्वोच्चको फैसला कुरिरहेको उल्लेख गर्नुभयो । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पुस १६ मा पार्टी कार्यालय चिप्लेढुङ्गामा प्रवचन कार्यक्रम समेत गर्ने कास्की काँग्रेस प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।