गण्डकी खबर । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले अध्याधुनिक सुविधा सहितको रक्तसञ्चार केन्द्र निर्माण शुरुआत गरेको छ ।
संस्थाले आठ करोडको लागतमा भवन निर्माण अघि बढाएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट परिसरमा विसं २०४५ मा निर्माण भएको जीर्ण अवस्थामा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको रेडक्रसले पोखरा-८ सिर्जनाचोकमा पार्किङसहितको तीन तल्ले अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण शुरु गरेको भवन निर्माण समितिका संयोजक डण्डराज पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भवन निर्माणका लागि हालसम्म सरकारबाट रु एक करोड, गण्डकी प्रदेश सरकारबाट रु ५० लाख, महानगरबाट रु १५ लाख र अन्य विभिन्न सङ्घ संस्थाबाट पाँच लाखभन्दा बढी सङ्कलन भएको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको जीर्ण भवनमा रहेका सरकार तथा विभिन्न दातृराष्ट्रबाट प्राप्त करोडौँका मूल्यावान उपकरणको सुरक्षामा चुनौती रहेको कारण नयाँ भवन निर्माण प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो वार्षिक २७ हजार रगत आवश्यक पर्ने यस क्षेत्रका जनजनको जीवनरक्षा जस्तो पवित्र कार्यमा सहयोग गर्न महानगरको ३३ वटै वडा, विभिन्न वित्तीय संस्था र उद्योगी व्यवसायीलगायत व्यक्तिलाई आर्थिक सहयोग गर्न आह्वान गरिएको छ ।