Facebook Twitter Instagram
    Facebook Twitter Instagram YouTube
    Gandaki KhabarGandaki Khabar
    header banner
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी
    • विजनेश
    • खेलकुद
    • मनोरञ्जन
    Gandaki KhabarGandaki Khabar
    Home»गण्डकी»बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    बुद्धसिंह मार्गः सम्पन्न हुने बेला बल्ल निर्माण शुरु

    गण्डकी खबरगण्डकी खबर६ माघ २०७७, मंगलवार
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email WhatsApp
    Image description

    गण्डकी खबर ।  निर्माण सम्पन्न हुने बेलामा तनहुँ र चितवन जोड्ने बुद्धसिंह मार्गको घुमाउनेमा पक्की पुल निर्माण शुरु भएको छ । विसं २०७५ माघ महिनामा सम्झौता भएको पुल निर्माणको काम अहिले आएर बल्ल शुरु भएको हो ।

    ठेक्का सम्झौतानुसार काम भएको भए यतिबेलासम्म अहिले पुल अन्तिम चरणमा पुग्ने भए पनि निर्माण कम्पनीले प्राविधिक कारण देखाउँदै निर्माणमा ढिलाइ गरेको छ । हेटौंडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको जिकिर गरेको छ । उक्त कम्पनीले विसं २०७८ पुस मसान्तसम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का प्राप्त गरेको थियो ।

    निर्माण कम्पनीले अबको एक वर्षभित्र सक्ने प्रतिबद्धताबमोजिम काम शुरु गरेको सडक डिभिजन कार्यालय दमौलीले जनाएको छ । पटकपटक ध्यानाकर्षण र दवावपछि अहिले आएर बल्ल निर्माण कम्पनीले काम थालेको कार्यालयले बताएको छ । “काममा ढिलाइ भए पनि निर्माण कम्पनीले अहिलेसम्म म्याद थपका लागि कार्यालयमा निवेदन भने दिएको छैन”, कार्यालका सूचना अधिकारी नारायण पौडेलले भन्नुभयो, “म्याद थपको निवेदन आएपछि अवस्था हेरेर मात्र निर्णय हुन सक्छ ।”

    ठेकेदार कम्पनीका प्रतिनिधि दिवस उप्रेतीले कोभिड–१९ को महामारीका कारणले समयमा नै काम गर्न नसकिएको जनाउँदै शुरुमा डिजाइन परिवर्तन र मुग्लिन–नारायणगढ सडकको अवरोधले पनि काममा ढिलाइ भएको बताउनुभयो । “एक वर्षभित्र पुलको आधारभूत काम सक्ने गरी निर्माण शुरु गरेका छौंँ”, इञ्जिनीयर पौडेलले भन्नुभयो ।

    हाल तनहुँतर्फको भागमा जग तयार भइरहेको र चितवनतर्फ जमीनमुनिकै काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । केही दिनअघि विघटित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले निर्माण कम्पनीका प्रतिनिधिलाई पुल निर्माणको कामलाई तीव्रता दिन अनुरोध गर्नुभएको थियो ।

    एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने छ । पुलको लागत रु आठ करोड २६ लाख रहने छ । पुल निर्माण सम्पन्नपछि गण्डकी प्रदेशको राजधानी पोखरासहित विभिन्न जिल्लाका नागरिकलाई चितवनसहित पूर्वी र पश्चिम तराई जान सजिलो हुन्छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ । उक्त पुल निर्माण
    पछि घुमाउनेबाट तनहँु सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिन, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोमिटर छोटो पर्न जान्छ ।

    तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमित रुपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गेपुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छन् भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

    जीवनस्तर बदलिँदै

    पोखरा र दमौलीलाई नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंह मार्गमा पर्ने सराङ्घाट केही वर्षअघिसम्म सुनसान र उजाड थियो । गाउँमा न बिजुली थियो न सडक नै । सर्वसाधारणका लागि सदरमुकाम दमौली आउनुपरेका खण्डमा घुमाउनेमा रहेको झोलुङ्गेपुल तरेर चितवन हुँदै दमौली आउनुपर्ने बाध्यता उत्तिकै थियो ।

    सदरमुकामबाट नजीकै रहेर पनि तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ सराङ्घाट बत्तीमुनिको अँध्यारो जस्तै थियो । स्थानीयवासी लालबहादुर राना केही वर्षअघिको सम्झना गर्दै भन्नुहुन्छ, “गाउँमा न बिजुली थियो न सडक नै जसले गर्दा स्थानीयवासीको दैनिकी नै फरक थियो । अहिले सडक र बत्ती आएसँगै जीवनस्तर बदलिन थालेको छ ।”

    यतिखेर लालबहादुर रानालाई समेत सडकले गर्दा आफ्नो ठाउँ विकासको गतिमा हिँडेको अनुभूति भएको छ । केही वर्षअघिसम्म बुद्धसिंह मार्गको किनारका बस्ती उजाड थिए तर अहिले तिनमा व्यापारिक चहलपहल बढेको छ । यसको मुख्य कारण भनेकै बुद्धसिंह मार्गमा यातायात सञ्चालन हुनु हो । विगतमा सडक तथा पूर्वाधारको अभावलगायत कारण गाउँ छाड्नेहरू आगामी दिनमा विस्तारै फर्कने अपेक्षा गरिएको छ ।

    पोखरा र दमौलीलाई नारायणगढ जोड्ने वैकल्पिक सडकका रुपमा विस्तार गरिएको सो मार्गमा यातायात सञ्चालन शुरु भएपछि सडक क्षेत्रमा पर्ने साना बस्ती अहिले बजारमा परिणत बनेका छन् । यो सडकअन्तर्गत पर्ने सबैभन्दा ठूलो बजार सराङ्घाट हो । सदरमुकाम दमौली मात्र नभई बन्दीपुर, पोखरा र नारायणगढबाट समेत पछिल्ला दिनमा यहाँ घडेरी किन्न मानिस आउन थालेको होटल व्यवसायी रानाले बताउनुभयो ।

    बुद्धसिंह मार्गमा हाल दमौलीबाट दैनिक छ–सात बस र त्यतिकै सङ्ख्यामा जीप तथा अन्य सवारीसाधन चल्ने गर्छन् । उक्त सवारी साधन आँबुखैरेनी गाउँपालिका वडा नं ६ को घुमाउनेसम्म पुगेर पुनः दमौलीतर्फ नै फर्कन्छन् । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहो¥याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ ।

    सडक विस्तारसँगै सराङ्घाटमा होटल, किराना पसल र फेन्सी पसल सञ्चालनमा आएका छन् । गाउँमा विद्युत् सेवा पुगेसँगै विद्युतीय उपकरणका पसल पनि सञ्चालनमा आएको स्थानीयवासी भीमबहादुर गुरुङले बताउनुभयो । पछिल्ला दिनमा सराङ्घाटमा भौतिक पूर्वाधार निर्माण पनि तीव्र गतिमा भइरहेको छ ।

    यस क्षेत्रको भाग्य र भविष्यमा वरदान सावित बन्ने घुमाउने पुल निर्माण अघि बढेपछि स्थानीयवासीमा खुशी छाएको छ । उक्त पुल छिटोभन्दा छिटो सम्पन्न भइदिए थप सहज हुने र यस क्षेत्रको समृद्धि र विकासले अझै गति लिने स्थानीयवासी बताउँछन् ।

    पुल निर्माण सम्पन्न भएपछि सराङ्घाटलगायत बुद्धसिंह मार्गमा पर्ने अन्य साना बजार लाब्दी खोला, नाल्दी, मास्दीघाट, खहरे, हात्तीसोढे र कोइदिमको रुप नै फेरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित खबर

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    स्याङ्जामा नदीमा बगेर १६ वर्षीया बालिका बेपत्ता

    कास्की आउन रमाना बुझ्ने क्रममै पक्राउ परेका डीएसपी ठगबहादुर बर्खास्त

    Add A Comment

    Leave A Reply Cancel Reply

    धेरै पढिएको

    २५ औं लामाचौर तीज महोत्सव सुरु

    शुभम् सहकारीको एघारौँ वार्षिक साधारण सभा सम्पन्न

    पोखराकी अन्जिताको क्यानोनिङ गर्ने क्रममा लडेर मृत्यु

    प्रहरी चौकी इन्चार्ज पौडेलको हत्या होटल संचालकबाटै भएको खुलासा

    गण्डकी खबर प्रा.लि.
    पोखरा -०८, न्युरोड
    सूचना तथा प्रसारण विभाग दर्ता : २२३२/ २०७७-०७८
    प्रेस काउन्सिल नेपाल दर्ता : २३८५/ २०७७-०७८
    Email: gandakikhabar@gmail.com

    गण्डकीखबर डट कम गण्डकी खबर प्रालिबाट संचालित खबर पोर्टल हो ।  
    संचालक : एमडी पौडेल
    सम्पादक : अशोक सुबेदी
    संवाददाता: सन्तोष न्यौपाने
    संवाददाता: दिल गुरुङ

    • Facebook
    • Twitter
    • Pinterest
    • YouTube
    • WhatsApp
    • Instagram
    • LinkedIn
    • TikTok

    Type above and press Enter to search. Press Esc to cancel.