गण्डकी खबर । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले सञ्चारमाध्यमले योग र ध्यानका समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
न्युज लाइन्स मिडियाको चौथो वार्षिकोत्सव एवम् सम्मान कार्यक्रममा उहाँले योग र ध्यान नेपाली संस्कृति भएकाले यसको संरक्षणमा सञ्चारमाध्यम लाग्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “योग र ध्यानको आकर्षण संसारमा बढेको छ, बुद्ध जन्मथलो नेपालमा योग र ध्यानको विशेष महत्व छ, बुद्धको जन्मथलो नेपाललाई ध्यानको राजधानी बनाउनुपर्छ ।” विश्वमा ३० करोड जनसङ्ख्या योग र ध्यानमा लागेको उहाँको भनाइ छ । कोरोनाले योग र ध्यानलाई अझै व्यापकता दिएको उहाँले बताउनुभयो । विसं २०३६ देखि नेपालमा योग दिवस मनाउन प्रस्ताव गरे पनि २० वर्षपछि मात्र मनाउन थालिएको उहाँको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले अनलाइन पत्रकारिता चुनौतीपूर्णरुपमा अगाडि बढेको बताउनुभयो । सरकारले अनलाइन मिडियालाई नियन्त्रण गर्न खोजेको उहाँको आरोप थियो । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले कोभिड–१९ ले थलिएको नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउनका लागि सरकारले विशेष योजना अगाडि सार्नुपर्ने बताउनुभयो ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपाली सञ्चार क्षेत्रले सकारात्मक सोचका साथ समाचार प्रसारण गर्नुपर्ने उल्लेख गर्नुभयो । “नेपाली पत्रकारितामा सक्षम व्यक्ति आएका छन्, अनलाइन मिडिया नेपाली पत्रकारितामा सफल भएको छ”, उहाँले भन्नुभयो । नेपाली पत्रकारिता क्षेत्रमा भएको विकृति र विसङ्गतिलाई सुधार्दै लैजानुपर्ने उहाँको भनाइ थियो ।
सोही अवसरमा कृषि वैज्ञानिक डा हरिकुमार श्रेष्ठ, पर्यटन व्यवसायी जगतबहादुर गुरुङ, समाजसेवी भावना केसी, हरि कार्कीलगायत १४ जनालाई सम्मान गरिएको थियो । सम्मानीत व्यक्तिका तर्फबाट कृषि वैज्ञानिक डा श्रेष्ठले कृषि क्षेत्रलाई प्राथमिकतामा समाचार लेख्न आग्रह गर्नुभयो । न्युज लाइन्स मिडियाका प्रबन्ध निर्देशक गीता ढकालले देशभित्रको विकृति–विसङ्गतिको अन्त्य गर्दै मुलुकको आर्थिक विकासका लागि आफ्नो अनलाइनले निरन्तर खबरदारी गर्र्दै आएको उल्लेख गर्नुभयो ।