
गण्डकी खबर । सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न माग गरेको छ । समितिले आज शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको हो ।
समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उहाँको भनाइ थियो । समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्ने उपर कारवाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको छ ।
धोवीखोला बगेको साविक नगर २५ (क) कित्ता नं ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारवाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारवाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको महासचिव कोइरालाले बताउनुभयो । समितिले हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायमा पु¥याउने बताएको छ । -रासस