
गण्डकी खबर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले देशलाई फेरि युद्धतिर फर्काउने ? भन्दै प्रचण्ड–नेपाल समूहलाई प्रश्न गरेका छन् ।
शुक्रबार बुटवलमा आयोजित ओली समूहको सभामा बोल्दै उनले प्रचण्ड–नेपाल समूहले ‘मांसाहारी’ आन्दोलन गर्न लागेको आरोप लगाउँदै भने, “अब सडकमा गएर मांसाहारी आन्दोलन गर्ने ? यो मांसाहारी आन्दोलन के हो ? यो रक्तपातपूर्ण आन्दोलन हो । यो मान्छे मार्ने आन्दोलन हो । आजको आवश्यकता यही हो ? फेरि युद्धतिर फर्काउने ? आज राजनीतिक एजेन्डा यही हो ? यो एजेन्डाको खिलापमा छ । उहाँहरुमा अझै आन्दोलन र युद्धको धङधङी सकिएको छैन ।”
उनले संसद् पुनःस्थापना नहुने जिकिर गरे । अब प्र्रचण्ड–नेपालसँग केपी शर्मा ओलीको हस्ताक्षरमा चुनावमा जाने, पार्टी चोइट्याउने वा निर्वाचन बहिस्कार गरेर मोहन वैद्यसँग जाने विकल्प मात्रै भएको ऊर्जामन्त्रीसमेत रहेका रायमाझीले बताए ।
रायमाझीले प्रचण्ड–नेपाल समूहका नेताहरु विचारको नभएर पद–प्रतिष्ठाका लागि लडिरहेको आरोप पनि लगाए । उनले पुष्पकमल दाहाल ‘प्रचण्डले आफ्नो समूहमा मन्त्रीहरु फर्कन लागेको बताएर झुटको खेती गरेको जिकिर गरे । यही माघ २८ गते काठमाडौंमा आयोजित प्रचण्ड–नेपाल समूहको सभामा प्रचण्डले दुईजना मन्त्रीहरु आफ्नो समूहमा आउनेबारेमा कुराकानी भइरहेको बताएका थिए । तर, उनले नाम खुलाएका थिएनन् ।
स्थायी कमिटी सदस्यसमेत रहेका रायमाझीले ‘प्रचण्ड प्रधानमन्त्री भएका बेलमा जनयुद्धका घाइतेलाई उपचार गर्नु पर्दैन ?’ भन्दै प्रश्न गरे । अब सबै घाइतेको उपचार ओलीले गर्ने उनको भनाइ थियो ।