समाचार

सभामुखले बोलाए सर्वदलीय बैठक, ओली सहभागी नहुने, नेपाल हुने

गण्डकी खबर । संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति बारे छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बस्ने भएको छ ।

सभामुख अग्नि प्रसाद सापकोटाको आह्वानमा बस्ने बैठक दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।

बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार यो बैठकमा सबै दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीलाई बोलाइएको छ । नेतालाई पठाइएको निमन्त्रणा पत्रमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिए पनि यो बैठकमा संसद विघटनपछि अब के कसरी अघि बढ्ने बारेमा छलफल हुने बताइएको छ ।

सरकारले संसद विघटन गर्दै चुनाव घोषणा गरेपछि सभामुख सापकोटा असन्तुष्ट हुनुहुन्छ । त्यसैले उहाँले बोलाएको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओली भने नजाने हुनुभएको छ । बैठकमा प्रधानमन्त्री ओलीलाई बोलाइएको भए पनि उहाँ नजाने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो’ सल्लाहकार थापा भन्नुभयो ‘प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन। भेटेर छलफल गर्ने हो। यसरी बोलाएको बैठकमा उहाँ सहभागी हुनुहुन्न ।’

यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ ।

मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button