
गण्डकी खबर । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् ।
कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ। विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् ।
अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उनले जानकारी दिए। कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ ।
विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन्। सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन्। सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् ।
विद्यार्थी भर्ना प्र्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन्। अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उनले बताए। उनले भने, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन्। पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।”
जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् । रासस