गण्डकीसमाचार

कास्कीमा बाढीका कारण निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति

गण्डकी खबर । भारी वर्षाका कारण आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ ।

गए रातिदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले हाइड्रोपावरमा रहेका मेसिनरी, यन्त्र उपकरण, क्रसर उद्योग सेट, रड आदि गरी करिब १५ करोड बराबरका सामग्री बगाएको हाइड्रोका सञ्चालक धनराज आचार्यले पोखरा न्यूजलाई बताउनुभयो ।

निर्माण स्थलमा रहेका एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रडको थुप्रो लगायत बगाएको जानकारी प्राप्त भएको सञ्चालक आचार्यले बताउनुभयो ।

‘हामीले एक्स्काभेटर,लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, काटेर राखिएका रड लगायतका सामाग्री बगाएको भन्ने जानकारी पाएका छौँ । उद्योगको माथिल्लो भागमा रहेको आरओइमा समेत क्षति पुगेको खबर छ । अनुमानित १५ करोड बराबरको क्षति भएको छ । हामी त्यसतर्फ जादैछौ’, सञ्चालक आचार्यले भन्नुभयो ।

हाइड्रोपावरमा बाढीका कारण क्षति पुगेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीको टोली घटनास्थल तर्फ लागेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले बताउनुभयो ।

‘हामीले बाढीका कारण एक्स्काभेटर, लोडर लगायतका सामाग्रीमा क्षति पुगेको भन्ने सूचना प्राप्त गरेका छौ, हाम्रो टोली त्यसतर्फ लागिसकेको छ । अहिले सम्पर्क हुन् सकेको छैन । केही बेरमै क्षतिको वास्तविक विवरण प्राप्त हुनेछ’, डिएसपी हमालले पोखरा न्यूज सँग भन्नुभयो ।

बाढीका कारण मानवीय क्षति हुन नपाएको र आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको डिएसपी हमालले बताउनुभयो ।

कुल ८०० करोडको लगानीमा २०७८ को असार मसान्तभित्र निर्माण कार्य सक्ने लक्ष्य राखिएको हाइड्रोको ७८ प्रतिशत निर्माण कार्य सकिएको आयोजनाले जनाएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button