गण्डकीसमाचार

पोखराका दुई सरकारी अस्पताललाई २८ लाख बराबरका स्वास्थ्य उपकरण प्रदान

गण्डकी खबर । पोखराका दुई सरकारी अस्पताललाई बिहीबार करिब २८ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान गरिएको छ ।

क्याटरपिलर फाउन्डेसन र एसिष्ट इन्टरनेशनल अमेरिकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लेखनाथ स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताललाई कोभिड विरुद्धका स्वास्थ्य सामाग्री प्रदान गरेका हुन् ।

क्याटरपिलर फाउन्डेसन र एसिष्ट इन्टरनेशनल नेपालका लागि संयोजनको भूमिका निर्वाह गरेका समाजसेवी तथा भिजन एण्ड भ्यालुका प्रबन्ध निर्देशक पदमराज पौडेलले प्रतिष्ठानका निर्देशक प्रा.डा.भरत खत्रीलाई एक/एक थान भेन्टिलेटर, सक्सन मेशिन र मल्टिपल प्यासियन्ट मनिटर हस्तान्तरण गर्नुभएको हो ।

प्रतिष्ठानलाई प्रदान गरिएका ती स्वास्थ्य सामाग्री करिब १५ लाख बरावरको रहेको समाजसेवी पौडेलले बताउनुभयो । प्रतिष्ठानका निर्देशक प्रा. डा. खत्रीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उहाँले कोभिड विरुद्धको लडाइँमा धेरै विदेशी शुभचिन्तकहरू नेपालीको साथमा रहेको बताउँदै भन्नुभयो–“विदेशी मित्रहरूले सहयोग स्वरूप प्रदान गरेका यी सामाग्री कोभिड विरुद्ध लड्न र धेरैको ज्यान जोगाउन सहयोग पुग्नेछ ।”

निर्देशक प्रा.डा खत्रीले दुई महत्त्वपूर्ण विदेशी संस्थाहरूबाट प्राप्त स्वास्थ्य सामाग्रीले स्वास्थ्य सेवा सहज बनाउन सहयोग पुग्ने बताउनुभयो । सहयोगी संस्थाहरू प्रति आभार प्रकट उहाँले प्रतिष्ठान जस्तो सुकै महामारीका विरुद्ध लड्न तयार अवस्थामा रहेको बताउनुभयो । निर्देशक प्रा.डा खत्रीले अव चाँडै प्रतिष्ठानको हातामा अक्सिजनको प्लान्ट समेत स्थापना हुने जानकारी दिनुभयो ।

यसै गरी बिहीबार नै पोखरा लेखनाथ स्थित सरुवा रोग अस्पताललाई करिब १३ लाख बरावरको कोभिड १९ विरुद्धका स्वास्थ्य सामाग्री उपलब्ध गराएको समाजसेवी पौडेलले बताउनुभयो ।

स्वास्थ्य उपकरण वितरण कार्यक्रममा प्रहरी उपरीक्षक राजेन्द्र ढकाल, इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख गुरु प्रसाद ढकाल, लेखनाथ इलाका प्रहरीका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र मरासिनी, पूर्व प्रअ फणीन्द्र शर्मा, समाजसेवी द्वय देवराज पन्थी र राज केसी तथा पोखरामा संयोजनको भूमिका निर्वाह गरेका वरिष्ठ पत्रकार राजु भण्डारीको सहभागिता रहेको थियो ।

पौडेलले कास्कीको रुपाकोट गाउँपालिका स्थित रुपाकोट अस्पताल र स्याङ्जा अस्पताललाई समेत स्वास्थ्य सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

दुवै संस्थाको सहयोगमा काठमाडौँको कान्तिवाल अस्पताल र बनेपा स्थित शिर मेमोरियल अस्पताल गरी नेपालमा करिब ५५ लाख बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको उहाँले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button