गण्डकीसमाचार

कर्मचारीको निधनमा गाउँपालिका बन्द

गण्डकी खबर । तनहुँको ऋषिङ गाउँपालिकामा कार्यरत सुरक्षागार्डको पहिरामा पुरिएर मृत्यु भएपछि गाउँपालिकाका सम्पूर्ण सेवा एक दिनका लागि बन्द गरिएको छ ।

ऋषिङ–८ माझकोटका ४२ वर्षीय खुमबहादुर थापाको निधनमा दुःख व्यक्त गर्दै गाउँपालिकाले असार २७ गते आज सेवा बन्द गर्ने निर्णय गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले गाउँपालिका मातहतका सम्पूर्ण कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

थापाको बिहीबार गोठमा पानी तर्काउन जाने क्रममा घर माथिबाट खसेको पहिराले पुरिएर मृत्यु भएको थियो ।

उहाँको शव पहिरामा पुरिएको ११ घण्टापछि निकालिएको थियो ।

ऋषिङ शोकमा

यसैगरी सोही दिन ऋषिङ–७ मा पहिराले पुरिएर देवीसरा थापाको मृत्यु भएको थियो ।

एकै दिन दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा परेको छ ।

पहिरामा पुरिएर दुई जनाको मृत्यु भएपछि ऋषिङ शोकमा डुबेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले बताउनुभयो ।

“प्रकृतिको रौद्ररुप प्रकट भएको छ । प्रकृतिले निर्मम प्रहार गरेको छ । सारा ऋषिङ शोकमग्न छ”,

उहाँले भन्नुभयो ।पहिराका कारण दर्जनौँ घर क्षतिग्रस्त र जोखिमपूर्ण भएका छन् ।

वर्षाको समयमा उठीबास, भागाभाग र रुवाबासी भएको छ । थुप्रै चौपाया मरेका छन् ।

धेरैको बारी पहिराले लगेको छ । खेत बगरमा परिणत भएको छ । खेतीपाती नष्ट भएको छ । सयौँ ठाउँमा पहिरो गएको छ । यातायात अवरुद्ध छ ।

उहाँका अनुसार पहिराले बस्ती असुरक्षित भएका छन् । “असुरक्षा, भय र त्रास व्याप्त छ । बाढी

पहिरोपीडितले सहयोगको याचना र अपेक्षा गरिरहेका छन् ।

क्षतिको भौतिक मूल्य अनुमान गर्न गाह्रो छ । मानसिक र मनोवैज्ञानिक असर त झन् कहालीलाग्दो छ”, उहाँले भन्नुभयो ।मृतक देवीसराका तीन सन्तान छन् ।

छोराहरु वैदेशिक रोजगारीमा छन् भने छोरीको घरजम भइसकेको छ । मृतक खुमबहादुरका तीन नाबालक छोरी छन् । उहाँका छोरीहरु कक्षा एक, ९ र १२ मा अध्ययनरत छन् ।

“कमाउने बुबाको नै पहिरामा परी मृत्यु भएपछि परिवारको बिचल्ली भएको छ”, आलेले भन्नुभयो । यतिबेला थापा परिवार सहाराविहीन बनेको छ ।

“परिवारको दैनिकी त कठिन हुने नै भयो । बालबच्चाको लालनपालन, शिक्षा, दीक्षा र भविष्य अनिश्चित बन्ने देखिएको छ”, आलेले भन्नुभयो ।

गाउँपालिकाको कर्मचारी भएकाले उचित राहत, बीमालगायतका अन्य आवश्यक सहयोग गाउँपालिकाले गर्नुपर्ने आलेले बताउनुभयो ।

साथै श्रीमती वा छोरीलाई रोजगारीको व्यवस्था मिलाउन उहाँले आग्रह गर्नुभयो । “दुःख र पीडाको यस

घडीमा पीडितलाई साथ, सहयोग र सहानुभूतिको खाँचो छ ।

उनीहरुको घाउलाई सहयोगरुपी मलमको आवश्यकता छ”, उहाँले भन्नुभयो, “सहयोग त सरकारले अवश्य नै गर्नेछ ।

मानवीयताका खातिर सरकारका अतिरिक्त तपाईँ हाम्रो व्यक्तिगत र संस्थागत सहयोगको पनि ठूलो आवश्यकता छ ।”

२४ घण्टादेखि पृथ्वीराजमार्ग एकतर्फी

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ ।

म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो ।

शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि

सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

“ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन”, उहाँले भन्नुभयो ।

राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button