पूर्व राजा ज्ञानेन्द्र शाहले देश निरन्तर अधोगतिमा जाँदा अब मौन रहन नसक्ने बताएका छन् । प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै पूर्वराजा शाहले राजसंस्था र राजनीतिक दल आपसी विश्वासका साथ अघि बढ्न विलम्ब गर्न नहुने बताएका हुन् ।
कुशासन, भ्रष्टाचार, निराशालाग्दो आर्थिक सिथिलता र सामाजिक विग्रहको चपेटामा देश फसेको बताउँदै युवाशक्ति बाहिर हुँदा राजनीतिक दलका नेताहरुले हाईसन्चो भएको भान गरेको शाहको आरोप छ । नेपाल एकिकरणको झण्डै २४० वर्षपछि शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझाएका उल्लेख गर्दै उनले कडा मेहनत गरि आफ्नो खुट्टामा उभिन खोज्ने स्वाभिमानी नेपालीहरु अहिले निराश भएको बताएका छन् ।
उनले लेखेका छन्, “अहिले युवाहरुको हकमा नेपालको इतिहास मै अद्धितीय जनसाङ्खिक लाभांशको चरणबाट गुज्रिरहेको छ । यस्तो अवस्था अब धेरै अवधि रहने छैन । युवाहरु आफ्ना सम्भावना र अवसरबाट वन्चित हुने अवस्था आम नैराश्यमा बदलिने जोखिम बढ्दो छ । हालै सम्पन्न आमनिर्वाचनमा युवाहरुको सहभागिता र केही आशालाग्दा नतिजाहरुबाट मुलुकको आगामी दिशाबारे आँकलन गर्न सकिन्छ । विगत बीस वर्षमा दशौँ लाख युवाहरु विदेश पलायन र फराकिलो डायास्पोराको निर्माण, विप्रेषणमा समाज र अर्थतन्त्र दुबै ठूलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविश्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ ।”
शुभकामना सन्देशमा थप लेखिएको छ, “राज्यसत्ताको बागडोर ज-जसका हातमा दोहोरिदै तेहरिदै आएपनि वा फेरिदै बदलिँदै गए पनि हाम्रो विद्यमान राज्य व्यवस्थाले जनताको सुख, शान्ति र राष्ट्रले श्री समृद्धिमा कुनै गहन योगदान दिन सकेको देखिन्न । देश र जनता भन्दा दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जन्जालमा राजनीतिक दलका धेरै नेताहरु फसेका छन् । तिनका धेरै कार्यकर्ताहरुमा राजनीतिक छत्रछाँया नभइ जीवनमा केही हासिल गर्न सकिदैन भन्ने मनोभाव विकसित गरिएको छ ।”
दलहरुले नेपालको निम्न एवं मध्यमवर्गको मुद्धामा मौन रहने प्रवृत्ति बढेको र शासकीय उत्तरदायित्व र गाम्भिर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको शाहको आरोप छ । उनल्र नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरि कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास गम्भीर चिन्ताको विषय भएको पनि बताएका छन् ।