पोखरा, १४ चैत । नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य चुणामणि जंगलीले पार्टी छाडेका छन् । कास्कीमा प्रभावशाली नेताका रूपमा मानिने जंगली पार्टीको गण्डकी प्रदेश कमिटीका सह–इन्चार्ज समेत हुन् ।
राष्ट्रपतिको निर्वाचन कै बेला आफूले पार्टीलाई राजीनामा बुझाएको नेता जंगलीले बताए । ‘माधव नेपाल जी ले राष्ट्रपतिको निर्वाचनमा काँग्रेस नेता रामचन्द्र पौडेललाई बोकेपछि नै मैले पार्टीलाई राजीनामा बुझाएको हुँ’, नेता जंगलीले हाम्रा प्रतिनिधिसँग भने, ‘आज राजीनामा स्वीकृत भएपछि सार्वजनिक रूपमा तपाईँहरूसँग सेयर गरे ।’
पार्टी नेतृत्व सधैँ दक्षिणपन्थी शक्तिको पछि लागेर कम्युनिष्ट आन्दोलन सखाप पार्न थालेको भान हुन् थालेपछि एक महिनाअघि नै पार्टीमा राजीनामा बुझाएको उनले बताए । पार्टीका नेता कम्युनिस्ट आन्दोलन जोगाउन तिर लाग्ने भन्दा पनि पदका लागि आलोपालोका नाममा विरोधीसँग मिल्न उद्धत भएको जंगलीको आरोप छ ।
‘नेपालमा कम्युनिस्ट आन्दोलन जोगाउन कम्युनिस्ट बिच एकता कायम गर्ने उद्देश्यका साथ कमरेड माधव नेपालसहित हामी चार घण्टा वार्तामा बसेर उहाँलाई राष्ट्रपति बन्न भन्यौ । उहाँले हुन्छ पनि भन्नुभयो । तर, उहाँ इन्डिया, अमेरिका र भारतको घेराबन्दीमा पर्नुभयो । पूर्व सहमतिबाट पछि हटेर काँग्रेसका उम्मेदवारलाई समर्थन गरेर बोकेरै हिँड्नुभयो ‘, नेता जंगलीले भने ।
कम्युनिस्ट आन्दोलन कमजोर पार्दै दुई-दुई र एक वर्ष आलोपालो प्रधानमन्त्री हुने लोभमा देशमा अस्थिरता निम्त्याउने बाटोमा पार्टी अध्यक्ष नै लागेपछि आफू बाध्य भएर पार्टी छाडेको नेता जंगलीको भनाई छ ।
मंगलबार बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुणामणि जंगलीको राजीनामा स्वीकृत गरेको हो ।