गण्डकीसमाचार

सबै स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा : मन्त्री भट्ट

 गण्डकी खबर ।   उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्रामको अवधारणा अघि बढाइसकेको बताउनुभएको छ ।

ललितपुर उद्योग वाणिज्य सङ्घको ‘४१ औँ साधारणसभा उद्घाटन’ का क्रममा शुक्रबार उहाँले विश्वका मुलुकहरु औद्योगिक क्रान्तिमार्फत विकास भइरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रकृतिले दिएका स्रोत साधनको सही ढङ्गले प्रयोग गर्न अझै सकेका छैनौँ। मुलुकमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई सही तरिकाले काम गर्न आग्रह गर्दछु । यदि कुनै व्यवसायीले गल्ती गरेमा त्यसलाई कानूनी कारवाहीको दायरामा पनि ल्याउनेछौँ ।” मुलुकलाई आर्थिक समृद्धि तिर अघि बढाउन उत्पादनलाई गुणस्तरीय बनाउन जरुरी रहेको उहाँको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले कोेभिडले लथालिङ्ग बनाएको अर्थतन्त्र जोगाउन सरकारले व्यवसायीलाई राहतको कार्यक्रम घोषणा गर्नुपर्ने औँल्याउनुभयो ।

ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले कोभिड अगाडिको व्यापार व्यवसाय पूर्ववत् पुनः फर्काउन जरुरी भएको हुँदा राम्राराम्रा कार्यक्रम ल्याउनुपर्ने मत व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हालको आर्थिक गतिविधि सुस्त भएको हुँदा उत्पादनलाई विश्व बजार समक्ष प्रतिस्पर्धी बनाउँदै लानुपर्ने भएको छ ।” ललितपुरमा रहेका छ पालिकामध्ये दक्षिण ललितपुरका तीन गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न ठूलो रकम आवश्यक भएको उहाँले जानकारी गराउनुभयो ।

सङ्घका वरिष्ठ उपाध्यक्ष भरतलाल प्रधानले मुलुकको अर्थतन्त्र बढाउन पुरातन सोचलाई अन्त्य गरी वैज्ञानिक ढङ्गले अघि बढ्नुपर्ने आवश्यकता भएको भनाइ राख्नुभयो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कोरोनाका कारण धरासायी भएका व्यवसायीलाई महानगरपालिकाभित्र तिर्नुपर्ने करमा १० प्रतिशत छुट दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुर विश्वको ३५औँ कला नगरीमा घोषणा भइसकेकाले यहाँका व्यवसायी आ–आफ्नो कामबाट पलायन नहुन् भनेर चालु आर्थिक वर्षमा कोभिड कोषको पैसा यसको बचावटमा छुट्याइसकेका छौँ ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button