गण्डकीसमाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज (शुक्रबार) विश्वासको मत लिँदै हुनुहुन्छ ।

आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो।

संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नुभएको हो ।

विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा गराइसकेको प्रवक्ता खड्काले बताउनुभयो ।

प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन छ।

उहाँले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने छ। गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button