गण्डकीसमाचार

पोखरा फेवातालको ‘सिल्टेसन ड्याम’ बाढीले बगायो

गण्डकी खबर । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले फेवाताल संरक्षणका लागि गत वर्ष निर्माण गरेको ‘सिल्टेसन ड्याम’ बाढीले बगाएको छ ।

यसैगरी बाढीपछि नदीले धार परिर्वतन गर्दा छ घरपरिवार विस्थापित भएका छन् ।

पोखरा–२३ स्थित फेवातालमा मिसिने हर्पन खोलामा निर्माण गरिएको ड्याम गए रातिको बाढीले

बगाएको र केही घरपरिवार विस्थापित भएका सोही वडाका वडाध्यक्ष विष्णु पराजुलीले जानकारी दिनुभयो ।

फेवातालमा मिसिने नदीले बर्खायाममा बगाएर ल्याउने ढुङ्गा, बालुवालगायतका गेग्रानका कारण ताल

पुरिँदै गएपछि नदीजन्य पदार्थ मिसिनबाट रोक्ने उद्देश्यले प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ड्याम तथा पोखरी निर्माण गरिएका थिए ।

फेवा जलाधार क्षेत्रका मुख्य चार नदीमा रु २८ करोड लागतमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको थियो ।

हर्पनमा निर्माण गरिएको ड्यामको लागत अनुमानित रु नौ करोड रहेको वडाध्यक्ष पराजुलीले बताउनुभयो ।

हर्पनखोलामा निर्माण गरिएको ९० मिटर लामो ड्याममध्ये अन्दाजी १० मिटर जति बगाएको र अहिले पनि निरन्तर बगाउने क्रम जारी रहेको छ ।

ठूलाखेतका बाढीबाट विस्थापित परिवार आफन्तकामा गएर बसेका छन् । ड्याम भत्किएर नदीले पूर्ववत

धार परिर्वतन गरेसँगै घरहरु जोखिममा परेपछि स्थानीयवासी घर छाडेर हिँडेका थिए ।

फेवातालको जलाधार क्षेत्रबाट वर्षेनी एक लाख ४२ हजार मेट्रिक टन ढुङ्गा, माटो, बालुवालगायतका गेग्रान तालमा मिसिने गरेको बताइन्छ ।

फेवामा आउने गेग्रान रोकेर ताल संरक्षण गर्न भन्दै मुख्य नदीमा सिल्टेसन ड्याम र पोखरी निर्माण गरिएको हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button