गण्डकीसमाचार

भारत भ्रमण उपलब्धिमूलक-मन्त्री ज्ञवाली

गण्डकी खबर । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताउनुभएको छ ।

नेपाल-भारत परराष्ट्र मन्त्रिस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा जानुभएको परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किनुभएको हो । भ्रमणले नेपाल र भारतविच रहदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताउनुभयो ।

आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पूर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडि बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उहाँले बताउनुभयो ।

बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शीघ्र काम शुरु गर्ने सहमती गरेको छ । भैरहवामा एकीकृत चेकपोष्टको काम शीघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाँले महाकालीमा निर्माणाधीन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताउनुभयो । बैठकमा भूकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ ।

नेपाल भारत बीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ । भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ । कृषिमा थप सहकार्य गर्ने तथा जि टु जि प्रक्रियामा मल खरिद गर्ने एम ओ यु लाई गति दिने सहमती लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button