गण्डकीसमाचार

मनाङका बाढीपहिरो पीडितलाई सरकारबाट राहत आएन

गण्डकी खबर । हिमाली जिल्ला मनाङमा लामो समयदेखि सरकारबाट कुनै किसिमका राहत प्राप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् ।

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिराले जिल्लाको अधिकांश क्षेत्रमा क्षति पुगेको छ ।

बाढीपहिरो आएको लामो समय बित्दा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।

अहिलेसम्म सरकारको तर्फबाट कुनै राहतको व्यवस्था नभएको र व्यक्तिगतरूपमा मात्रै राहत प्राप्त

भएको चामे गाउँपालिका–४ का स्थानीय बासिन्दा पल्साङ लामाले बताउनुभयो ।

“बाढीपहिरापछि कष्टकर र दयनीय अवस्थामा बस्न बाध्य भएका छौँ, घर बाढीपहिराले बगाएपछि अहिले टेण्ट र त्रिपालको बास भएको छ ।

गाउँबस्तीलाई हेर्दा मन भक्कानिन्छ । यस वर्ष मनाङमा सोच्दै नसोचेको कुरा भयो ।

एक्कासि बाढीपहिरो आएर घर बस्ती सबै लग्यो”, उहाँले भन्नुभयो, “यो समयमा सरकारी पक्षबाट सहयोग भएको छैन ।

राहत आएको छ त केवल विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदी बहिनीबाट व्यक्तिगतरूपमै भए पनि राहत सामग्री लिएर आएका छन् ।”

उहाँले पुनः थप्दै भन्नुभयो, “न प्रदेश सरकारले सहयोग गरेको छ, न केन्द्र सरकारले । अहिलेसम्म जसोतसो चलिरहेको छ ।

बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारले कुनै चासो देखाएन । सरकार नै नभएको महसुस भएको छ ।”

आफैँले खाद्यान्न ढुवानी गरेर ल्याउन सडक सञ्जाल पूर्णरूपमा टुटेको छ ।यहाँका बाढीपीडित केही सामुदायिक भवनतिर र केही त्रिपाल टाँगेर बस्ने गरेका छन् ।

सरकारको सहयोग नपाएपछि यहाँका नागरिक निराश हुन पुगेका छन् ।

यता प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बाढीपहिरापीडितलाई सरकारीस्तरबाट सक्दो सहयोग गरेको बताउनुभएको छ ।

बाढीपहिरापीडितका लागि व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गरिएको प्रजिअ लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले कुनै पनि बाढीपहिरापीडितलाई छुट्याएका छैनौँ । व्यक्तिगत र सरकारी निकायसँग समन्वय गरेर राहत प्रदान गर्दै आएका छौँ ।

जिल्लामा खाद्यान्न सङ्कटको सम्भावना देखिएको छ । व्यक्तिगत र सरकारबाट पनि दोहोरो हुने गरेर कसैलाई पनि राहत प्रदान गरिएको छैन ।

सबैलाई समानरूपले राहतको व्यवस्था मिलाएर प्रदान गरेका छौँ ।”

गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढीपहिराले अर्बौँको भौतिक क्षति पु¥याएपछि यतिबेला मनाङवासी पीडामा छन् ।

मस्र्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ ।

जिल्लाको चार स्थानीय तह नै बाढीपहिराबाट पूर्णरूपमा प्रभावित भएको छ । नासों, चामे र ङिस्याङ

गाउँपालिका बाढीपहिरो दुवैबाट क्षतिग्रस्त भएको छ भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button