आज शेर्पा समुदायको नयाँ वर्ष शुरु भएको अवसरमा ग्याल्पो ल्होसार पर्व मनाइदैँछ । तिब्बती बौद्ध धर्मअनुसार फागुन शुक्ल प्रतिपदाका दिनलाई नयाँ वर्षका रुपमा मनाउने प्रचलन छ ।
आउँदो पुर्णिमासम्मै मनाइने ग्याल्पो ल्होसार शेर्पा समुदाय बसोबास गर्ने नेपालको हिमाली भेगको प्रमुख पर्वमध्ये एक हो । तिब्बती क्यालेन्डर अनुसार अहिले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागिएको हो । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएकोमा यसपटक बाँदर वर्ग सम्पन्न भई कुकुर वर्गमा प्रवेश भएको छ ।
आजका दिन शेर्पा समुदायले मैदाको पिठोबाट बनाइएको खाप्से नाम गरेको मिठाई विशेष परिकारका रुपमा तयार गर्दछन् । नेपालमा गुरुङ समुदायले लमु ल्होसार, तामाङले सोनम ल्होसार र शेर्पाले ग्याल्पो ल्होसार मनाउँदै आएका छन् । ग्याल्पो ल्होसारका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ ।