गण्डकीसमाचार

७ करोड ६२ लाख हिनाविनामा मालपोत अधिकृतसहित ३ विरुद्ध आरोप पत्र दायर

गण्डकी खबर ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीसहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुका विरुद्ध कार्यालयमा जम्मा भएको राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप पत्र दायर भएको जानकारी दिनु भएको छ ।

मालपोत कार्यालयमा संकलित राजस्व लेखा शाखाबाट बैंकमा दाखिला नभएको भन्ने उजुरी परेपछि अख्तियारले छानविन अगाडि बढाएको थियो । आर्थिक वर्ष २०७३ देखि ०७५ सम्मको आन्तरिक लेखापरीक्षण हुँदा नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला नभएको उजुरी आयोगमा परेको थियो ।

उजुरी उपर अनुसन्धान गर्दा कार्यालयमा कार्यरत तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जीले ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ राजस्व सम्बन्धित बैंकमा दाखिला नगरी हिनामिना गरेको आयोगको दावी छ ।

त्यसैगरी दर्जीले सम्बन्धित बैंकको सरकारी छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी नक्कली भौचरहरु तयार गरेका थिए । दाखिला भौचरहरु बैंक दाखिल पश्चात सच्याई बदनियतपूर्ण ढंगले बढी दाखिला भएको देखिने गरी भौचर संलग्न गरे गराएको देखिएको आयोगले जानकारी दिएको छ ।

त्यसैगरी, सोही कार्यालयमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंकमा दाखिला नगरी संकलित राजस्व रकम आफूले बुझि सो राजस्व रकममध्ये रु. ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ ७५ पैसा सम्बन्धित बैंक खातामा दाखिला नगरी खाई मासी राजस्व हिनामिना गरेको आयोगले जनाएको छ ।

तत्कालीन समयमा नायब सुब्बा पदमा कार्यरत मनोज कुमार निरौलाले मुद्दा फाँटमा संकलित राजस्व रकममध्ये ४ लाख ७१ ह्जार ६ सय १८ रुपैयाँ लेखा शाखामा नबुझाई खाई मासी हिनामिना गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

दर्जीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) बमोजिमको कसुर, दफा ९ बमोजिमको कसुर तथा दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आयोगले विगोसहित कैद र सजायको माग गरेको पनि विज्ञप्तिमा जनाइएको छ ।

निजले हिनामिना गरेको रकममध्ये आन्तरिक लेखापरीक्षका क्रममा २ करोड ५८ लाख ३ हजार २ सय ३१ दाखिला गरेको हुँदा बाँकी रकम असुल उपर गरी सजायको माग गरिएको हो । त्यसैगरी निरौला र सापकोटाका विरुद्ध पनि हिनामिना भएको राजस्व रकम असुलउपर गरी कैद र सजायको माग गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button