गण्डकीसमाचार

आजको प्रतिनिधि सभा बैठकमा विभिन्न सांसदहरुको भनाई

नेकपा(एमाले) कि सचेतक शान्ता चौधरीले सरकारले गरेका कामहरुलाई दोषी आँखाले हेरिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समयमा बोल्दै सचेतक चौधरीले सरकारले हालसम्म गरेका महत्वपूर्ण कामहरुलाई दोषी आँखाले हेरिने गरेको बताउनुभएको हो । सरकारले तीन दशकपछि मेलम्चीको पानी काठमाडौंमा झारेको, देशलाई सुरुङ मार्गमा प्रवेश गराएको, भूकम्प पछिको पुननिर्माणका कामहरु भइरहेका तथा नयाँनयाँ विद्यालयहरु बनाउने लगायतका कामहरु सरकारले गरेको बताउनुभयो ।

सरकारले विद्रोही शक्तिलाई शान्तिपूर्ण राजनीतिमा प्रवेश गराई इतिहासमै ठुलो काम गरेको पनि बताउनुभयो । सरकाले देशलाई आत्मनिर्भर उन्मुख बनाउँदै लगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘विद्रोही शक्तिलाई वार्ताको टेबुल मार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको छ सरकारले । विप्लव समूह, सिके राउतजस्ता विद्रोही समूहलाई शान्तिको बाटोमा ल्याएको छ यो सरकारले ।

मलाई लाग्छ यो सत्ता पक्षले मात्रै होईन, प्रतिपक्ष सबैले सरकारलाई यतिबेला खुलेर धन्यवाद दिनुको सट्टा अहिलेपनि सरकारले केही गरेन भनेर हामीले बिरोध गरिरहेका छौँ । त्यसकारणले म भन्दैछु कस्तो संस्कार हो हाम्रो ? कस्तो बुझाइ हो हाम्रो ? अब देशमा कुनै विद्रोही शक्ति हुने छैनन् । इतिहासमा यो सरकारले सबैभन्दा ठुलो काम गरेको छ ।’

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले जनताले अहिले चुनाव नचाहेको बताउनुभयो । जनताले कोरोना र आर्थिक मन्दीबाट राहत चाहेको उहाँको भनाइ छ । सांसद श्रेष्ठले बागलुङमा चैत्र १५ गते फागु पुर्णिमाको दिन युवाहरु बीच भएको झडपका क्रममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य प्रकाश कुँवर र कार्यकर्ता दीपक परियारको हत्या भएकोमा आपत्ति प्रकट गर्दै दोषिलाई पक्राउ गरी कानूनी कारबाही गर्न माग गर्नुभयो । साथै उहाँले म्यानमारमा सैनिक सरकारले गरेको नरसंहार अमानवीय र निन्दनीय भन्दै म्यानमारको जनताको पक्षमा प्रष्ट रुपमा उभिएर अन्तर्राष्ट्रिय पहलकदमी लिन आवश्यक रहेको पनि बताउनुभयो ।

मेलम्चीको पानी काठमाडौँ ल्याउने सपना कृष्णप्रसाद भट्टराईको भएको उल्लेख गर्दै उहाँले अहिले आउनु खुशीको विषय भएपनि मैले नै ल्याएको हुँ भन्ने हुङ्कार न्यायोचित नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘यो कसैको जस र अपजस भन्नुभन्दा पनि हाम्रा सन्त नेता कृष्णप्रसाद भट्टराईले जुन सपना देख्नुभएको थियो । काठमाडौं भ्यालीका जनता अत्यन्त काकाकुल अवस्थामा रहेको हामीलाई सर्वविदित नै छ ।

त्यो काकाकुल अवस्थाबाट कसरी काठमाडौंबासिलाई खानेपानी उपलब्ध गराउन सकिन्छ भनेर आजको तिस वर्ष पहिला उहाँले सपना देख्नुभयो । आज सबैले खानेपानी प्राप्त गरेको छ । यो सबैका लागि खुशीको विषय हो । तीस वर्ष पहिलाको जस लिने कि अहिले सरकारले धारामा पानी ल्याएको जस लिने ठुलो कुरो होइन । हिजो तीस वर्षमा गरेको काम अहिले मैले धारामा पानी झारे भनेर, मैले नै गरें भनेर यो हुङ्कार चाहीँ सदनमा कति न्यायोचित हुन्छ ?’

नेकपा(माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले सरकारले संविधानको सर्वोच्चता र विधिको शासनलाई पालना नगरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले संसदको पुर्नस्थापना गरेको तर सरकारको पुर्नस्थापना नगरेको भन्दै उहाँले सरकार कामचलाउ भएको टिप्पणी गर्नुभयो । संसदमा बिजनेशका लागि विभिन्न विधेयकहरु भएपनि सरकारले एजेण्डाको रुपमा नल्याएर संसदलाई पुनः भङ्ग गरेर मध्यावधि निर्वाचनमा धेकल्न खोजेको उहाँको बताउनुभयो । संविधानले तोकेको अवधि अगाडि हुने निर्वाचन सही अर्थमा निर्वाचन हुन नसक्ने पनि बताउनुभयो ।

सरकार संविधान समाप्त पार्ने दिशातिर उद्दत्त रहेको उहाँको आरोप छ । सर्वोच्च अदालतको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकता खारेज गर्ने फैसलाले नेपालको दल सम्बन्धी स्वतन्त्रताको अधिकार हनन भएको र दलको अधिकार माथि हनन गर्ने प्रक्रियाको शुरुवात भएको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘नेपालको संविधानको दल सम्बन्धी स्वतन्त्रतामाथिको अधिकारलाई हनन गरेको देखिन्छ । दल खोल्न पाउने, विचार मिल्नेहरुको बीचमा दल खोल्न पाउने, स्थापना गर्न पाउने, गठन गर्न पाउने दलहरुको अधिकारको कुरा हो ।

तर त्यो दलहरुको अधिकारमाथि हनन गर्ने प्रक्रियाको सुरुवात भएको छ । यतिबेला दलीय स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र जो मुलुकमा स्थापित भएको छ त्यसमाथि एकप्रकारले खड्गो पैदा भएको छ । सङ्कट पैदा भएको छ । यो सङ्कटका विरुद्धमा सबै सजग र सचेत रहेर जुध्नका लागि आग्रह गर्न चाहान्छु ।’

जनता समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले म्यान्मारमा भएको नरसंहारका विरुद्ध र मानवअधिकार तथा लोकतन्त्रको पक्षमा सरकार र संसद बोल्नुपर्ने बताउनुभयो । यस्तै काठमाडौंमा देखिएको प्रदुषणका कारण सिर्जित समस्या समाधान गर्न केवल घरमा बसेर मात्रै नहुने भन्दै उहाँले प्रदुषण नियन्त्रणका लागि सरकारले वैज्ञानिक विधि अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले टिकापुर हत्याकाण्डका दोषिलाई सरकारले माफी दिन लागेको भन्दै टिकापुर हत्या काण्डलाई राजनीतिक मुद्दा बनाई माफी दिनु नहुने बताउनुभयो । संसद पुर्नस्थापना पछि संसदमा कुनैपनि पार्टीको स्पष्ट बहुमत नभएको सन्दर्भमा सरकारको बहुमत पुर्‍याउनको लागि रेशम चौधरी लगायतको रिहाइ गरिए कानून र न्यायको अवहेलना हुने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भारत तर्फको खुल्ला सिमानाका कारण नेपालमा कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले सिमानामा क्वारेन्टाइन तथा परिक्षणको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कोभिड–१९ संक्रमणबारे अघिल्लो वर्षबाट पाठ सिक्नुपर्ने उहाँको भनाइ छ । कोभिड–१९ का विरुद्ध सत्तारुढ दलका कार्यकर्तालाई सीमामा स्वयंसेवकको रुपमा परिचालन गर्नुपर्ने पनि बताउनुभयो ।

सांसद सुवालले सरकारी अस्पतालमा अझैपनि राम्रो सेवा सुविधा नभएको टिप्पणी गर्नुभयो । सरकारी अस्पतालका चिकित्सक, आवश्यक उपकरणलाई पर्याप्त बनाइ गुणस्तरीय सेवा दिन सरकारको ध्यान नपुगेको उहाँको भनाइ छ । प्रदुषणका कारण काठमाडौंमा स्वास्थ्य समस्या देखिएकाले काठमाडौंलाई रोगीको थलो बनाउन नदिन सरकारले ध्यान पुर्‍याउनुपर्ने सांसद सुवालले बताउनुभयो ।

कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओली संसदको बैठकमा किन अनुपस्थित हुनुभएको भन्दै प्रश्न गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केही दिन अगाडि आफूमाथि गम्भिर सुरक्षा खतरा रहेको र कुनैपनि बखत आफूमाथि भौतिक आक्रमण हुन सक्ने आसयको अभिव्यक्ति दिएको प्रति आपत्ति जनाउँदै संसदमा अनुपस्थित हुनुको कारण सुरक्षा खतरा अथवा नैतिक खतरा के हो स्पष्ट पार्न माग गर्नुभएको हो ।

प्रतिनिधि सभाको बुधबारको बैठकको शुन्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीको सुरक्षा खतरा बढ्नुको यथार्थ के हो र गृह मन्त्रालयले के कस्तो व्यवस्था गरेको छ संसदमा जानकारी गराउन माग गर्नुभयो । उहाँले प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले आफ्नै देशको सुरक्षा व्यवस्था र सुरक्षा क्षमता माथि प्रश्न उठने गरि गैह्रजिम्मेवार, असत्य र बनावटी अभिव्यक्ति दिनु गलत भएको भन्दै सरकारको जवाफ माग गर्नुभयो ।

कांग्रेसका अर्का सांसद दिव्यमणि राजभण्डारीले भारत सहित संसारभर फेरी कोरोना फैलिरहेको र त्यो अनुसार नेपालमा पनि संक्रमण बढ्ने देखिएको बताउनुभयो । त्यस अनुसार सरकारको तयारी नपुगेको बताउनुभयो । सरकारले खोप उपलब्ध गराउने, पीसीआर परीक्षण, उपचार व्यवस्था, जमघट सभा घटाउन, क्वारेन्टाइन र आइसोलेसनको अवस्था र जनचेतना फैलाउन सरकारले के कस्तो काम गरेको छ त्यस सम्बन्धमा जानकारी माग गर्नुभयो । उहाँले कोभिड संक्रमण रोकथामका लागि सर्वदलीय बैठकको समेत माग गर्नुभयो ।

कांग्रेस सांसद बालकृष्ण खाँडले यही चैत्र १५ गते आइतबार बाग्लुङ जिल्लाको प्युठान जिल्लासँग रहेको सिमानमा अवस्थित बडिगाउँ गाउँपालिका वडा नं. १०मा हिंसात्मक घटना घटेको र उक्त आक्रमण पछि नेपाली कांग्रेसका बागलुङ जिल्ला सदस्य प्रकाश कुँवर र स्थानीय नेता दीपक परियारको हत्या भएको र दर्जनौं मान्छेहरु घाइते भएकोप्रति अविलम्ब छानविन गरी अपराधिलाई कारबाही गर्न माग गर्नुभयो ।

कांग्रेस सांसद डिला संग्रौंलाले विश्वव्यापी कोरोना महामारिका कारण लाखौं नेपाली श्रमिकले विदेशमा रोजगारी गुमाएको उल्लेख गर्दै दशौं हजार नेपाली स्वदेश फर्किसकेको र उनीहरुको पुनस्थापनाका लागि सरकारले कुनै पहल नगरेको बताउनुभयो ।

त्यस्तै कोरियामा काम गर्न जान भाषा परीक्षा उत्तिर्ण भएर बसेका श्रमिकहरु कोरिया जान नपाएर अन्योलमा परेको बताउनुभयो । उहाँले नेपाल सरकारलाई कोरिया सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न आग्रह गर्नुभयो ।

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले सरकारले भ्रट्राचारीको संरक्षणमा सुरक्षाकर्मी खटाएको बताउनुभयो । भ्रट्राचारको प्रकरणमा राजीनामा समेत दिएका पूर्व सञ्चार मन्त्रीलाई गृहमन्त्रालयले सम्मान स्वरुप ‘बाईवान गेट टु’ उपहार स्वरुप दुई जना सेट सहित सुरक्षाकर्मी दिएको भन्दै आपत्ति जनाउनुभयो । यसबाट भ्रष्ट्राचारीलाई सुरक्षा दिने नीति सरकारले लिएको स्पष्ट हुने बताउनुभयो ।

कांग्रेस सांसद प्रकाश रसाईली स्नेहीले बझाङ जिल्ला साइपाल गाउँपालिकाका उपाध्यक्ष कल्पना बोहोराले संघीय सरकारका मन्त्रालय देखि विभिन्न निकायमा स्थानीय नागरिकलाई चामल खुवाउन पाउँ भन्दै धाएको विषय उल्लेख गर्दै अहिले देशका विकट क्षेत्रमा खान नपाएर मर्नुपर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बझाङका जनताले चामल खान पाउने की नपाउने भन्दै प्रश्न समेत गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (मओवादी केन्द्र)की सांसद पूर्णकुमारी सुवेदीले विस्तृत शान्ति सम्झौताका कामहरु पुरा हुन किन ढिलाई भइरहेको छ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै सत्यनिरुपण तथा मेलमिलाप आयोगका कामहरुको बारेमा जानकारी माग गर्नुभयो । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अहिले सम्मको कार्यप्रगतिको बारेमा समेत जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

माओवादी केन्द्रका सांसद टेकबहादुर बस्नेतले प्रतिनिधि सभा पुनस्थापना भएपछि सरकारको उदासनिताका कारण प्रतिनिधि सभा शुन्य समयमा समिति भएको बताउनुभयो । यस्तै सरकारले ‘जिल्ला लोकतन्त्रका योद्धा अभिलेखिकण २०७७’ भन्ने गोप्य समिति बनाएको पाइएको र यो भनेको के हो र किन बनाइएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद दलबहादुर रानाले नेपाल सरकारले छिटो छरितो माध्यमबाट पुल निर्माण कार्य सम्पन्न गरी जनतालाई सेवा सुविधा दिन ध्यानाकर्षण गराउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत निर्माण भइरहेका १७ सय ९३ वटा पुलहरु मध्ये पुलको निश्चित लम्बाई भन्दा माथिका, केन्द्रीय सडक योजना भित्र परेका र निर्माण कार्य शुरु भइसकेका बाहेक सबै पुलहरु स्थानीय पूर्वाधार विकास विभागलाई हस्तान्तरण गर्न माग गर्नुभयो ।

एमालेका सांसद नवराज शिलवालले जेनेभा स्थित इन्टर पार्लामेन्ट युनियनले नेपालका अधिकांश सांसदहरु सार्वजनिक यातायातमा संसद पुग्नेगरेको र कुनै कार्यालय राख्न नसकेको तरपनि राम्रो काम गरेको उल्लेख गरी रिपोर्ट सार्वजनिक गरेको बताउनुभयो । उहाँले यस्तो समस्या समाधान गर्न संसदका लागि बजेट बढाउन माग गर्नुभयो ।

एमालेका सांसद नारायणप्रसाद खतिवडाले नुवाकोटको ककनी, बेलकोटगढी र धादिङको धुनिवेसीका स्थानीयले सिसडोल डम्पिङ साइडमा फोहोर फाल्न रोकेको प्रति आफ्नो एकवद्धता रहेको बताउनुभयो । उहाँले स्थानीयका माग पुरा गरी फोहोर व्यवस्थापन गर्ने कार्य अगाडि बढाउन सरकारसँग माग गर्नुभयो ।

एमालेकी सांसद पार्वती कुमारी बिशुन्केले दैलेख जिल्लाकी आठबीस नगरपालिका वडा नं. ३ की ३५ वर्षिय गर्भवती सुकु बडुवालले ४ छोराछोरी सहित घरेलु हिंसाबाट प्रताडित भई यही फागुन २३ गते अन्तर्राष्ट्रिय महिला दिवसको दिन कर्णाली नदिमा सामुहिक आत्महत्या गरेको बताउनुभयो ।

यस्ता घटना न्यूनीकरणका लागि माग गर्नुभयो । उहाँले सम्बन्धित कानूनमा पुनरविचार गर्न समेत माग गर्नुभयो । pokharanews बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button