कैलाली । कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।
प्रहरी निरीक्षक अरुण बमले शुक्रबार तरकारीका लागि निउरोको साग टिप्न गएका चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो ।
चौधरीको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । पछिल्लो समय वन जंगलभित्र र आसपासका क्षेत्रमा जंगली जनावरले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ ।
लायकपुर सामुदायिक वन समितिका अध्यक्ष हरिहर गिरी वन जंगल विनास हुँदा वन्यजन्तुको आहाराको अभावले जंगली जनावर जंगल बाहिर निस्कने, जंगलमै पनि आक्रमण गर्नेजस्ता घटना बढेको बताउँनुहुन्छ ।
‘जंगली जनावरका लागि आवश्यक आहाराका बारेमा पनि सोच्न आवश्यक भएको छ’, उहाँ भन्नुहुन्छ, ‘उनीहरुको वासस्थान सुरक्षामा पनि चुनौती बढेको छ, जसले मानिस नै जोखिममा पर्न थालेका छन् ।रासस