गण्डकीसमाचार

सभापति देउवाद्वारा प्रधानाङ्ग र राईको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको जिल्ला कार्यसमिति भक्तपुरका संस्थापक सभापति एवं पूर्व वाणिज्य तथा आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानाङ्गको यही चैत २० गते ९६ वर्षको उमेरमा ललितपुरको एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको थियो ।सभापति देउवाले सोमबार एक शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक पुराना अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । सभापति देउवाले पार्टी सङ्गठन, नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक क्षेत्रमा प्रधानाङ्गले निर्वाह गर्नुभएको योगदान सदा स्मरणीय रहने उल्लेख गर्नुभएको छ ।

स्व प्रधानाङ्ग विसं २००७ देखि २०१० सालसम्म कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरको सभापति, २०१६ सालमा राष्ट्रिय योजना आयोगको सदस्य, २०४८ सालमा राष्ट्रियसभाको सदस्य र विसं २०४८ देखि २०५० सालसम्म वाणिज्य तथा आपूर्ति राज्यमन्त्री हुनुभएको थियो । विसं २०१७ मा प्रजातन्त्र अपदस्थ गरिएपछि कांग्रेसद्वारा सञ्चालन गरिएको सङ्घर्षका क्रममा उहाँ पक्राउ परी करिब एक वर्ष जेल जीवनसमेत व्यतित गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म प्राध्यापनसमेत गर्नुभएका स्व प्रधानाङ्गले राजनीतिका साथै सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पुर्याउनु भएको थियो ।

यसैगरी सभापति देउवाले सोमाबार नै कांग्रेस ताप्लेजुङका पूर्व सहसभापति एवं तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) ताप्लेजुङका पूर्वसभापति डीबी राईको निधनप्रति पनि दुःख व्यक्त गर्नुभएको छ । उहाँको यही चैत २२ गते उपचारका क्रममा झापा लैजाँदै गर्दा बाटोमा निधन भएको थियो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उहाँको निधनबाट कांग्रेसले एक सरल र निष्ठावान अग्रज व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै उहाँप्रति श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

विसं २०३६ मा कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङको सचिव रहनुभएका स्व राईले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । विसं २००४ मा जन्मनुभएका स्व राईका चार छोरा र दुई छोरी हुनुहुन्छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button