गण्डकीसमाचार

कामपाको प्रमुख, उपप्रमुखलाई नागरिक अभिनन्दन

काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई नागरिक अभिनन्दन गरिएको छ ।

स्थानीय भाषाको पाठ्यक्रम लागू गरेर कामपाले काठमाडौँको भाषा, लिपि, कला, संस्कार, संस्कृतिलाई जीवन्त राखेको भन्दै नेवाः पत्रकार राष्ट्रिय दबुले आज यहाँ सांस्कृतिक बाजागाजासहित शहरको विभिन्न स्थानको परिक्रमा गरी नागरिक अभिनन्दन गरेको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेवार जातिले नेपालको इतिहास र अस्तित्व बोकेकाले यसको पहिचानलाई जीवन्त राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले कामपाले धर्म संस्कृति जगेर्नाका लागि चालेका विभिन्न कदमको पनि प्रशंसा गर्नुभयो ।

सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्थानीय पाठ्क्रम लागू गर्नु ऐतिहासिक काम भएको भन्दै कक्षा १ देखि ८ सम्म मात्रै नभएर १२ कक्षासम्म लागू गर्न सुझाव दिनुभयो । कामपाका प्रमुख शाक्यले अन्य जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै महानगरको विकास र संस्कृतिको उत्थान गर्न सकिने धारणा राख्नुभयो ।

नेपालको संविधानको भाग ३ मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा (२) (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । काठमाडौँ महानगरपालिकाले सोही व्यवस्थाअन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

कामपाको विसं २०७७ असोजमा बसेको १९औँ कार्यपालिका बैठकले यही शैक्षिक सत्रदेखि स्थानीय भाषाको पुस्तक लागू गर्ने निर्णय गरेको थियो । ‘पाठ््यपुस्तकमा काठमाडौँको मुख्य जाति नेवारको चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक स्वरुप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपीजस्ता विषय समेटिएको छ ।

कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन हुनेछ । त्यस्तै कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।

कामपाले आधारभूत कक्षा १ देखि आठसम्मका लागि स्थानीय पाठ्यपुस्तक तयार गरेको हो । अनिवार्य विषयका रूपमा ‘येँ देय् म्हसीके’ नामक पाठ्यपुस्तक तयार गरिएको छ । सामुदायिक र संस्थागत दुवै विद्यालयका लागि पाठ््यपुस्तक तयार गरेको भए पनि हाल सामुदायिक विद्यालयको लागि मात्रै अनिवार्य रुपमा लागू गरिने भएकाले शिक्षक पनि सोही अनुरुप राखिने छ । यही शैक्षिक सत्रदेखि कामपामा रहेको ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालयमा लागू गर्ने गरी पाठ्यपुस्तक तयार गरेको हो । अब यी सबै विद्यालयमा १०० पूर्णाङ्कको स्थानीय विषयको पठनपाठन हुनेछ ।

कामपाको सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थी पठनपाठन गर्ने गरेका छन् । कामपाको सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button