गण्डकीसमाचार

पोखरामा मास्क नलगाई हिड्ने एक हजार बढी नियन्त्रणमा, प्रशासनद्वारा अनुगमन तीव्र

गण्डकी खबर । कास्की प्रशासनले कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तीव्र बनाएको छ ।

पोखरा बजारमा दिनानुदिन सङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै विभिन्न समारोह हुने पार्टी प्यालेसहरूमा अनुगमन बढाएको हो ।

प्रशासनले आज कास्कीको पोखराका अधिकतम भिडभाड हुने ठाउँहरू चिप्लेढुङगा, अमरसिंह चोक र पृथ्वीचोकमा मास्क नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा आज मास्क नलगाउने एक हजार ७८ जनालाई नियन्त्रणमा लिई कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । उक्त अवसरमा सामुदायिक प्रहरीको सक्रियतामा मास्क समेत वितरण गरिएको थियो ।प्रशासनले पोखराका विभिन्न पाँच वटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ ।

कोरोना सङ्क्रमणको दर बढिरहेको अवस्थामा प्रत्येक नागरिक आ–आफ्नो ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रजिअ गौतमले प्रशासनले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button