गण्डकीसमाचार

स्याङ्जामा वैशाख २१ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी

स्याङ्जा, १९ वैशाख । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले वैशाख २१ गते बिहान ६ बजेदेखि जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

यही वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरीद गर्न नजिकका पायक पर्ने स्थानमा जानबाहेक अन्य अनावश्यक काम हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी १२ दिनका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय स्याङ्जामा बसेको बैठकले जनभावना अनुसार नै निषेधज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

बैठकले अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी पेट्रोलियम पदार्थ, निर्माण सामाग्री पसलहरु दिनमा १ पटकमा बिहान ५ बजे देखि ११ बजेसम्म सञ्चालन गर्न पाइने, औषधि एवम् स्वास्थ्य सामाग्रीका पसलहरु २४ से घण्टा नियमित सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नेपालले कालीगण्डकी खबरलाई बताउनुभयो ।

उहाँका अनुसार, बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।

आज केही समय अघि बसेको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले जिल्लाका वालिङ, चापाकोट र गल्याङ नगरपालिकामा सोमबार बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार जिल्लामा अहिलेसम्म १०३३ जना कोरानाबाट संक्रमित हुनुभएको छ ।

तीमध्ये ८२१ जना निको भइसक्नुभएको छ भने २१२ जना संक्रिय संक्रमित हुनुहुन्छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । kaligandaki khabar बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button