गण्डकी खबर । काेराेना संक्रमितको संख्या धेरै बढेपछि आज पाेखराकाे बजार क्षेत्रमा सर्वसाधरणकाे चहलपहल ठप्प देखिएकाे छ । बिहानदेखि नै पाेखरा सुनसान देखिएकाे छ ।
हिजाे शुक्रबार पोखरामा कोरोना अवधिभरकै सर्वाधिक संक्रमित थपिएका थिए । हिजाे नै यहाँका विभिन्न अस्पातलमा उपचाररत ६ जना संक्रमितहरुकाे निधन भएकाे थियाे । संक्रमित र त्यसबाट निधन हुनेकाे संख्या बढेसँगै स्थानीय बासिन्दाहरु सजग बन्न थालेका हुन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार शुक्रबार पाेखरा महानगरपालिकामा ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हाे ।
कास्की जिल्लाभर कुल ८ सय ५६ जना कोरोनाका संक्रमित थपिएका थिए । जसमध्ये मादीमा ९ जना, अन्नपूर्ण र रुपा गाउँपालिकामा ४, ४ जना र माछापुच्छ्रेमा एक जना रहेकाछन् ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १५ पुगेको छ । कास्कीमा हालसम्म ८९ सय ४९ जना निको भएकाछन् ।
जिल्लाभर २ हजार ७२९ जना कोरोनाका सक्रिय केस छन् । हालसम्म कास्कीमा कोरोनाबाट १ सय ३७ जनाको ज्यान गएको छ ।
कास्की जिल्लामा वैशाख १५ गतेबाट निषेधाज्ञा जारी छ ।
जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरसको संक्रमण फैलिँदै गएको भन्दै कास्की प्रशासनले वैशाख १५ गते बिहान ६ बजेबाट वैशाख मसान्त राति २१ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले उक्त अवधिभर अत्याश्यक कामवाहेक घरबाहिर हिँडडुल गर्न, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न सभाजुलुस गर्न जात्रा महोत्सव गर्न निषेध गरेको छ ।
प्रशासनले औषधी एवं स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घन्टा खुला रहने तथा उपभोग्य, खाद्यान्न र निर्माण सामग्री पसलहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न भनेको छ ।