गण्डकीसमाचार

पोखरामा दैनिक रूपमा भर्चुअल उपस्थित भई डाक्टरसँग परामर्श लिन सकिने

गण्डकी खबर । अस्पतालमा हुनेहरुलाई चिकित्सकले प्रत्यक्ष निगरानी गर्र्ने गरे पनि घरमै बस्नेहरु चिकित्सकीय परामर्शबाट वञ्चित भएकाले पोखरा महानगरपालिकाका युवाले उनीहरुलाई ध्यानमा राखी ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम शुरु गरेका छन् ।

पोखरा –२४ मा क्रियाशील हाम्रो कास्कीकोट युवा सञ्जालले सङ्क्रमण तीव्र रुपमा बढ्दै जाँदा परामर्शका लागि नियमित रुपमा चिकित्सकसँग सरसल्लाह कार्यक्रम सञ्चालन गरेको हो ।कास्कीकोट स्थायी घर भई हाल विभिन्न ठाउँमा कार्यरत चिकित्सकलाई दैनिक रूपमा भर्चुअल उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाइएको छ ।

साँझ ६ः३० देखि ७ः०० बजेसम्मको समय छुट्टयाइएको सो कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दीर्घरोगी तथा अन्य व्यक्तिले आफ्ना स्वास्थ्यसम्बन्धी जिज्ञासा सीधै चिकित्सकसँग राख्न सक्ने सञ्जालका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताउनुभयो ।

उहाँका अनुसार इन्टरनेटको पहुँच नभएका व्यक्तिले पनि तोकिएका नम्बरमा एसएमएस वा फोन सम्पर्क गरी आफ्ना जिज्ञासा राख्न सक्ने व्यवस्था मिलाइएको छ । डा सन्तोष अधिकारी, डा किरण बस्ताकोटी, डा नवराज बस्ताकोटी, डा असीम सुवेदी, डा दीपक मल्ल, डा विश्वराज बस्ताकोटीलगायत चिकित्सकले परामर्श दिँदै आउनुभएको छ ।

कोरोना सङ्क्रमित भएर घरमै आइसोलेशनमा रहेका बिरामीले लाभ लिन सकून् भन्ने उद्देश्यले सञ्चालित कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने सञ्जालका संयोजक हेम सुवेदी बताउनुभयो ।

प्रत्यक्ष अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानलमार्फत हेर्न सकून् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमको भिडियो अपलोड गर्ने गरिएको र सोको जानकारी सामाजिक सञ्जालमार्फत दिइएको सञ्जालका प्राविधिक संयोजक इञ्जिनीयर रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो

अस्पतालमा स्वास्थ्य सामग्रीका लागि बजेट विनियोजित

जिल्ला समन्वय समिति कास्कीले पोखरा र चार गाउँपालिकाका पालिकास्तरीय अस्पतालमा स्वास्थ्य संरचना, अक्सिजन बेडलगायत स्वास्थ्य सामग्री व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

समन्वय समितिको आज बसेको जुम बैठकले समितिको मौज्दात कोषबाट पालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका लागि महानगरपालिकालाई रु ६० लाख तथा माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकालाई रु १० लाखका दरले रु ४० लाख बजेट विनियोजन गर्ने निर्णय गरेको हो । पालिकाको सिफारिशमा सम्बन्धित स्वास्थ्य संस्थालाई बजेट उपलब्ध गराइने बताइएको छ ।

जिल्लामा कोभिड–१९ को प्रभाव बढी देखिएको तथा जनशक्तिको सेवा अझै कम भएको देखिएकाले गाउँपालिका र महानगरपालिका क्षेत्रका सरकारी अस्पतालमा स्वास्थ्य सामग्री व्यवस्थापनमा सहयोग पुगोस् भनेर सो रकम प्रदान गर्ने निर्णय गरिएको समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो ।

यसैगरी पोखरा–१६ स्थित मातृशिशु अस्पतालमा २० शय्याको आइशोलेशनका लागि रु १५ लाख तत्काल महानगरको खातामा पठाउने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकले कोभिड–१९को महामारीबीच विभिन्न खाद्य एवं स्वास्थ्य सामग्रीमा अमानवीय तवरबाट कृत्रिम अभाव देखाउँदै अस्वाभाविक मूल्यवृद्धि भएको जनगुनासो आएकाले मानवीयतालाई ख्याल गर्न र स्थलगत अनुगमन गरी नियमनको प्रक्रियामा ल्याई सहज आपूर्तिको व्यवस्था मिलाउन सबैको ध्यानाकर्षण गरिएको छ ।

हालको महामारीको रोकथाम र नियन्त्रणका लागि जिल्ला समन्वय समितिका सम्पूर्ण पदाधिकारी सदस्य सहजीकरणमा अझै प्रभावकारी ढंगले लाग्ने निर्णय गरिएको समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो ।

यसैगरी समन्वय समितिले सरकारले जारी गरेको निषेधाज्ञाको पूर्ण पालन र स्वास्थ्य मापदण्डलाई आत्मसात् गरी घरमा नै रहन जिल्लावासीमा आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button