गण्डकीसमाचार

दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढ्यो

गण्डकी खबर । गण्डकी प्रदेश सरकारले रु ७५ लाख विनियोजन गरेपछि सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन प्लान्ट जडान कार्य अघि बढाइएको छ ।

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र बनेसँगै अक्सिजनको अभाव हुन थालेपछि प्लान्ट निर्माण प्रक्रिया अघि बढाइएको हो ।कोभिडका बिरामीका लागि अस्पतालले छुट्टै कक्षको स्थापना गरी उपचारको व्यवस्था मिलाइएको छ ।

अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले रु ७५ लाख विनियोजित गरेकामा रु ५३ लाखमा बोलपत्र स्वीकृत भई काम शुरु गरिएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिनुभयो । बन्दाबन्दीको अवस्था भए पनि अत्यावश्यक क्षेत्र भएकाले उपकरण भारतबाट ल्याई छिट्टै प्लान्ट निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

अक्सिजन प्लान्ट निर्माणपश्चात दैनिक १० सिलिण्डर उत्पादन गर्न सकिने छ । अस्पतालमा उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने समस्याको अन्त्य हुने विश्वास गरिएको छ । आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्तिमा विश्वसनीय हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

कोरोना लक्षित बिरामीका लागि अस्पतालमा भेन्टिलेटरसहितको अलग उपचार कक्ष सञ्चालन गरी १६ सङ्क्रमितको उपचार भइरहेको अस्पतालका प्रशासन प्रमुख गुरुदक्त घिमिरेले बताउनुभयो । उपचारका लागि अहिले चार चिकित्सक र चार स्टाफ नर्स परिचालन गरी सेवा प्रदान गरिएको छ । दमौली अस्पतालमा छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीका केही क्षेत्रका मानिस उपचारका लागि आउने अस्पतालले जनाएको छ ।

आइसीयू अभावमा वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ का ८१ वर्षीय कोरोना सङ्क्रमित वृद्धको सोमबार निधन भएको छ । कोरोना सङ्क्रमणसँगै निमोनियाबाट ग्रस्त वृद्धको आइसीयूमा उपचार गर्नुपर्ने भए पनि आइसीयूको व्यवस्था नहुँदा मृत्यु भएको हो । स्थानीय जिपी कोइराला अस्पतालको आइसोलेशनमा उपचाररत वृद्धको निधन भएको हो । अवस्था नाजुक हुँदै गएपछि विभिन्न अस्पतालमा आइसीयू सेवाका लागि पहल गरे पनि कतैबाट सहयोग नहुँदा आइसोलेशनमा नै निधन भएको केन्द्रले जनाएको छ । अस्पतालका कार्यकारी प्रमुख डा श्रेष्ठले आइसीयू अभावमा बिरामीले ज्यान गुमाउनुपरेको बताउनुभयो ।

आमा समूहलाई आर्थिक सहयोग

प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले स्व बुबा रामबहादुर अधिकारीको स्मृतिमा स्थानीय आमा समूहलाई सोमबार आर्थिक सहयोग गर्नुभएको छ । व्यास नगरपालिका–११ निवासी अधिकारीले स्व बुबाको १३औँ दिनको पुण्यतिथिमा फराकचौर आमा समूहलाई रु ५१ हजार ११५ सहयोग गर्नुभएको हो । उक्त रकमबाट आमा समूहलाई समाजमा रचनात्मक कार्य गर्न प्रहरी उपरीक्षक अधिकारीले आग्रह गर्नुभयो ।

कल्याणकारी कोषमा सहयोग जुट्दै

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले स्थापना गर्न लागेको कल्याणकारी कोषमा सहयोग जुट्न थालेको छ । शाखाले कल्याणकारी कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक र सहयोगी संस्थालाई सहयोगका लागि आग्रह गरेपछि सहयोग जुट्न थालेको हो । शनिबार भर्चुअल माध्यमबाट सम्पन्न शाखाको बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो ।

भानु नगरपालिका–९ पुर्कोटका समाजसेवी, प्रभु बैंकका पूर्वसञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष तथा आशा लघुवित्त वित्तीय संस्थाका पूर्वअध्यक्षसमेत रहनुभएका श्रीराम पाण्डेले कोषमा रु २० हजार सहयोग गर्नुभएको शाखाका अध्यक्ष उज्ज्वल पौडेलले बताउनुभयो ।

त्यसैगरी व्यास–१ गल्बुबँेसी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गर्नुभएको छ । न्यौपानेले रु दुई हजार ५११ गर्नुभएको हो । लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील न्यौपाने पत्रकार महासङ्घका पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।

कोष स्थापनाका लागि पत्रकार, शुभेच्छुक, सहयोगी संस्था र व्यक्तिलाई कोषमा आर्थिक सङ्कलन गर्ने निर्णय गरिएको महासङ्घ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताउनुभयो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button