गण्डकीसमाचार

स्याङ्जामा आर्थिक अवस्था कमजोर भएकालाई गाउँपालिकाले आर्थिक सहयोग गर्ने

गण्डकी खबर । आर्थिक अवस्था कमजोर भएका गाउँपालिकावासीलाई फेदीखोलागाउँपालिका स्याङ्जाले आर्थिक सहयोग गर्ने भएको छ ।

कोभिड–१९ को दोस्रो सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि गाउँपालिकामा सङ्क्रमण देखिएका बिरामी स्वास्थ्य परीक्षणमा चासो नदेखाएको र आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या आएको भन्दै गाउँपालिकाले पालिकावासीलाई उपचारमा हौसला प्रदान गर्न आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बजेट अभावमा उपचारमा समस्या नहोस् भनेर अर्थिक अवस्था कमजोर भएका पालिकावासीलाई उपचारमा सहयोग पुगोस् भनेर रु १५ हजारसम्म दिने निर्णय भएको बताउनुभयो । अध्यक्ष सुवेदीले भन्नुभयो, “कोरोना पोजेटिभ देखिए पनि आर्थिक अभावमा अस्पताल नगएर घरमै थलिएर बसेको अवस्थामा पालिकाले दिने उपचार खर्चले सहयोग पुग्छ र यसले सङ्क्रमणलाई लुकाउने कार्यमा कमी आउँछ ।”

बिरामीले अस्पतालमा स्वास्थ्योपचार गराएको कागजपत्रका आधारमा गाउँपालिकाको कार्यालयमा उपचार खर्च गरेको अवस्थामा रकम उपलब्ध गराउने अध्यक्ष सुवेदीले बताउनुभयो ।

गाउँपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी बरालले गाउँपालिकाभित्र ४९ जना सङ्क्रमित रहेको र जसमध्ये नौजना सङ्क्रमण निको भएर घर फर्किएको र एकजना सङ्क्रमित महिलाको मृत्यु भएको जानकारी दिनुभयो । गाउँपालिकाले कोरोना महामारीमा स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यअनुसार पालिकाभित्र दुईओटा एम्बुलेन्स सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमित बिरामी र सुत्केरीको उपचारका लागि छुट्टाछुट्टै एम्बुलन्सद्वारा निःशुल्क सेवासमेत दिँदै आएको प्रशासकीय प्रमुख बरालले बताउनुभयो ।

गाउँपालिकाले २० श्ययाको अक्सिजनसहितको अस्पताल सञ्चालनमा ल्याएको र कोरोना सङ्क्रमितहरूलाई सङ्क्रमितको घरघरमै पुगेर औषधिसमेत वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ । जिल्लामा यो समाचार तयार पार्दासम्म कूल एक हजार ८४२ जना सङ्क्रमित भएका छन् भने ३२० जना निको भएर घर फर्किएका छन् ।

मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने विभिन्न ६४ जना सङ्क्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार होम आइसोलेशनमा एक हजार ३४३ छन् भने क्वारेन्टिनमा ३६ जना छन् । जिल्लामा २९७ आइसोलेशन श्यया र २४९ अक्सिजन सिलिण्डर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।रासस

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button