गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेको बताउनुभएको छ ।
पोखरा पर्यटन परिषद्ले आइतबार आयोजना गरेको अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले प्रदेश अक्सिजनमा आत्मनिर्भर रहेकोले अन्यत्र आस गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको हो ।
उहाँले कहिलेकाहीँ प्राविधिक कारणले बिरामीको दुखद मृत्यु हुने गरेको उल्लेख गर्दै त्यसलाई रोक्न सबै गम्भीर हुनुपर्ने बताउनुभयो । ‘बेलाबेलामा हुने ‘टेक्निकल इरर’ का कारण बिरामीको मृत्यु हुनु दुःखद हो, हामीले यसलाई गम्भीर रूपमा लिएका छौँ,’ मुख्यमन्त्री गुरुङले भन्नुभयो ।
उहाँले स्रोतसाधन र जनशक्तिको अभाव हुन नदिन तथा बिरामीको उपचारका लागि कुनै पनि समस्या उत्पन्न हुन् नदिन सरोकारवालालाई निर्देशन दिइएको बताउनुभयो । मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘ हामी हाम्रो तर्फबाट हरदम लागि परेका छौँ, पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड उपचार अस्पताल भएको छ, अब सङ्क्रमितको उपचारकालागि कुनै पनि समस्या हुँदैन।’
उहाँले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भएको उल्लेख गर्दै खोपलाई पहिलो प्राथमिकता दिएर प्रदेश सरकारले प्राथमिकताका साथ काम गरेको बताउनुभयो । मन्त्रिपरिषद्बाट खोप खरिद गर्नको लागि सङ्घ सरकारलाई सिफारिस गरेको जानकारी दिँदै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि खोपका लागि सकारात्मक पहल भएको र बजेटले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
मुख्यमन्त्रीले परिषद्ले आयात गरेका उक्त सामग्री सङ्क्रामक तथा सरुवा रोग अस्पतालका चिकित्सक विकास गौचन, पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डुकबहादुर क्षेत्री र मातृ शिशु मितेरी अस्पतालका चिकित्सक पुष्कर गौचनलाई हस्तान्तरण गर्नुभएको थियो ।