गण्डकीसमाचार

कोरोनाबाट श्रीमती बितेपछि २ छोरी सहित अलपत्र परेका श्रीमानको कोभिड हेल्पलाइन पोखराद्वारा उद्धार

गण्डकी खबर । पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक कोरोना सङ्क्रमित महिलाका परिवारको कोभिड हेल्पलाइन पोखराले उद्धार गरेको छ ।

कोरोना संक्रमण पुष्टि भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड वार्डमा शुक्रबार मृत्यु भएकी बर्दघाट नवलपरासीकी सुनिता श्रेष्ठको परिवारलाई गरिब तथा विपन्न वर्गलाई निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा दिने उद्देश्यले शुरु गरिएको अभियान अन्तर्गत पोखरामा स्थापना गरिएको कोभिड हेल्पलाइनले आइतबार उद्धार गरेको हो ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचारको क्रममा निधन भएकी श्रेष्ठका श्रीमान् र दुई छोरी काज किरियाका लागि घर जान नपाइ अस्पताल परिसरमै अलपत्र अवस्थामा भेटिएपछि उद्धार गरी स्कारपियो मार्फत बर्दघाट पठाइएको अभियन्ता जिता बरालले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमित श्रीमतीलाई गुमाएको पीडामा बाल बच्चासहित अस्पतालमै अलपत्र परेको बेला अभियानबाट सहयोग पाएको भन्दै मृतकका श्रीमान् उपेन्द्र श्रेष्ठले सहयोग गर्ने अभियानकर्तालाई धन्यबाद व्यक्त गर्नुभयो । हेल्पलाइनले उहाँलाई घर जाने व्यवस्था र बाटो खर्च प्रदान गरेको हो ।

पूर्व आइजिपी सर्बेन्द्र खनालको परिकल्पनामा काठमाण्डौबाट शुरु भएको सो अभियान देवेन्द्र सुबेदीको संयोजनमा पोखरा जिरो किलोमिटर शान्तिनगर चोकमा हेल्प डेस्क खडा गरी सञ्चालन हुँदै आएको छ।

कोभिड १९ को विषम परिस्थितिमा अलपत्र परेका अथवा उपचार गराउन आउन नसकेका गरिब तथा विपन्न वर्गले हटलाइन नम्बर ९८१९१९३०४७ मा सम्पर्क गरी निःशुल्क प्राथमिक स्वास्थ्य तथा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने संयोजक देवेन्द्र सुबेदीले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button