गण्डकीसमाचार

पोखरामा डिभाइन क्लबद्वारा संक्रमितलाई स्वास्थ्य तथा सरसफाइ सामाग्री सहयोग

गण्डकी खबर । डिभाइन यूथ क्लब नेपाल कास्कीले बुधवार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोभिड संक्रमितहरुलाई स्वास्थ्य तथा सरसफाइ सम्बन्धी सामाग्री उपलब्ध गराएको छ ।

क्लबले २७ हजार रुपैया बराबरका सामग्री सङ्क्रमितहरूलाई वितरण गर्ने गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्री लाई हस्तान्तरण गरेको हो ।

गण्डकी प्रदेशका विभिन्न स्थानबाट सरकारी अस्पतालमा उपचाररत कतिपय न्यून आर्थिक अवस्था भएका कोभिड सङ्क्रमितहरूको व्यक्तिगत स्वास्थ्यलाई मध्यनजर गर्दै उक्त सामग्री हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

क्लबले हस्तान्तरण गरेको सामग्रीमा मास्क स्यानिटाइजर साबुन ब्रस टुथपेस्ट जस्ता व्यक्तिगत स्वास्थ्य सुरक्षाको लागि प्रयोग हुने सामग्री रहेका छन् ।

हाल प्रतिष्ठानमा ८० जना सङ्क्रमितहरूको उपचार भइरहेको छ । कोभिड १९ बाट सङ्क्रमित भई उपचाररत सबैलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्की, कोभिड फोकल पर्सन डा. शरद बराल र डा डेभिड श्रेष्ठ, कोभिड आइसोलेसन वार्ड इन्चार्ज सावित्री तिवारी र गीता तिवारी, श्यामा श्याम सत्सङ्ग पोखराका सदस्य विष्णु पुरी लगायतको उपस्थिति रहेको थियो ।

हस्तान्तरण कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ अस्पताल नर्सिङ प्रशासक सरिता कार्की ले हस्तान्तरण गरिएका सामाग्री बिरामीको लागी अत्यन्तै उपयोगी हुने बताउनुभयो साथै प्रतिष्ठानका निर्देशक डा. भरत बहादुर खत्रीले क्लबलाई धन्यवाद प्रदान गर्नुभएको थियो ।

राधे राधे अन्तर्गतको क्लबले श्यामा श्याम सत्सङ्ग पोखरा र विद्वत समाज नेपाल कास्कीको सहयोग र सहकार्यमा यस अघि पनि अस्पतालका बिरामीका लागि सबै वार्डमा वाटर डिस्पेन्सर, स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सामाग्री वितरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिसकेको क्लबका संयोजक शुकदेव गुरुङले बताउनुभयो ।

जगद्गुरु श्री कृपालु जी महाराजका एक मात्र नेपाली प्रचारक स्वामी श्री हरिदासजी द्वारा गठित क्लब सामाजिक सेवा र आध्यात्मिक जागरणको क्षेत्रमा सक्रिय रहँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button