गण्डकीसमाचार

गण्डकी प्रदेशमा मन्त्री दीपक मनाङेले मुख्यमन्त्रीकाे साथ छाडे

गण्डकी खबर । गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको साथ छाड्नुभएको छ ।

प्रदेशमा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगाउनकै लागि एमालेको आग्रहमा युवा तथा खेलकुद मन्त्री बन्नुभएका उहाँले प्रदेशसभा विघटनको दिशामा लान खोजेको भन्दै मुख्यमन्त्रीको साथ छाड्नुभएको हो ।

मुख्यमन्त्री गुरुङबाट प्रदेशसभा विघटन गरेर निर्वाचनमा जाने प्रस्ताव आएपछि आफूले समर्थन गर्न नसकेको बताउनुभयो ।

सरकारले विश्वासको मत प्राप्त नगर्ने भएपछि प्रदेश सभा विघटन हुनबाट रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिने निर्णय गरेको मनाङेले बताउनुभयो ।

‘प्रदेशसभा विघटन गरेर चुनाव गराउने खेलमा म लाग्दिन, प्रदेश सभा जोगाउन चाहिने ३१ मत पुर्‍याउनको लागि म सहयोग गर्छु’, मन्त्री मनाङेले भन्नुभयो ।

मुख्यमन्त्री गुरुङले बिहीबार विश्वासको मत लिने तयारी गरिरहेका बेला बुधबार साँझ मनाङेले साथ छाडेसँगै प्रदेशसभामा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत जुट्ने सम्भावना बढेको छ ।

विपक्षमा नेपाली काँग्रेसका १५, माओवादी केन्द्रका १२ (१ सभामुख) , जसपाका २ र जनमोर्चाका २ सांसद छन् । अदालतबाट पद थमौती भएका जनमोर्चाका सांसद कृष्ण थापाले भने मुख्यमन्त्रीको पक्षमा उभिने बताइसक्नुभएको छ ।

प्रदेश सभामा नेकपा एमालेका २७ जना सांसद रहेका छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमत पुराउन ३१ मतको आवश्यक पर्दछ।

संविधानको धारा १६८(३) अनुसार पुनः मुख्यमन्त्री नियुक्त भएका गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button