गण्डकीसमाचार

पोखरामा बुधबार बिहान मात्रै निषेधाज्ञाको उल्लङ्घन गर्ने ६१ सवारीसाधन नियन्त्रणमा

गण्डकी खबर । पोखरामा निषेधाज्ञाको उल्लङ्घन गर्ने ६१ वटा सवारीसाधनलाई बुधबार बिहान नियन्त्रणमा लिइएको छ ।

कास्की प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गर्ने ५२ वटा दुई पाङ्ग्रे तथा ९ वटा चार पाङ्ग्रे सवारीसाधनलाई नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबारबाट कास्की प्रशासनले निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेकोमा बुधबार बिहान ५ बजेदेखि १०:४५ बजेसम्म त्यसको उल्लङ्घन गर्दै सञ्चालन भएका सो सङ्ख्याका सवारीसाधनलाई नियन्त्रणमा लिएर होल्ड गराइएको एसपी श्रेष्ठलेले बताउनुभयो ।

उहाँले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले लगाएको निषेधाज्ञा आदेश अनुसार अन्तर्गत दुई पाङ्ग्रे र चार पाङ्ग्रे साना निजी सवारी साधनहरू जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बरका गाडी मात्र चलाउन आग्रह गर्नुभयो ।

चार पाङ्ग्रे निजी सवारीसाधनले अनावश्यक व्यक्ति नचढाई स्वास्थ्य मापदण्ड अपनाएर बढीमा चालकसहित ४ जना यात्रु मात्र चढेर सञ्चालन गर्न पनि एसपी श्रेष्ठलेले आग्रह गर्नुभयो ।

कास्कीमा असार ८ गतेदेखि निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागु गरेको छ भने प्रशासनले विभिन्न पेसा, व्यवसाय तथा पसलहरू बिहान ५ बजे देखि १२ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रशासनका अनुसार औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरू २४ सै घण्टा खुला रहन पाउने छन् । तर निषेधाज्ञामा यस अघि जस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल, रेस्टुरेन्ट, चिया तथा खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्स बार, दोहोरी साँझ, फन पार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिम खाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन र फुटपाथ पसल लगायतका सेवा एवम् स्थलहरू खोल्न तथा सञ्चालन गर्न रोक लगाइएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार माथि उल्लेखित बाहेकका व्यवसायहरू बिहान ५ बजेदेखि १२ बजेसम्म दैनिक रूपमा खोल्न दिइएको छ । ताजा दूध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पु¥याउन एवं बिक्री वितरण गर्न पाइनेछ ।

सबै प्रकारका शैक्षिक संस्थाहरू भौतिक रूपमा उपस्थित भएर सञ्चालन नगरी अनलाइन रूपमा सञ्चालन गर्न सकिने भएको छ । विवाह, व्रतबन्ध एवम् संस्कारजन्य कार्यक्रमहरू पार्टी प्यालेस तथा होटेलमा सञ्चालन गर्न नपाइने भएको छ ।

पूर्व निर्धारित विवाह कार्यक्रम गर्दा तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालन गरी १० जना भन्दा बढी सहभागी हुन नपाइने बताइएको छ । आफू नै प्रत्यक्ष संलग्न भई गर्नुपर्ने मृत्यु संस्कारबाहेकका अन्य गतिविधिमा संलग्न नहुन पनि प्रशासनले रोक लगाइएको छ ।

अनलाइन डेलिभरी तथा होम डेलिभरी सेवा निश्चित मात्रामा स्वास्थ्य मापदण्ड पूरा गरी बेलुकी ७ बजेसम्म सञ्चालन गर्न पाइने छ । खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध जस्ता दैनिक उपभोग्य वस्तुहरू नजिकको पसलबाट मात्र खरिद गर्न पाइने भएको छ । त्यसै गरी फलफूल तथा तरकारीको थोक विक्रेताले बिक्री वितरण गर्न पाइने छैन ।

ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरूले बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म मात्र ढुवानी गर्न सक्नेछन् । निर्माण सेवाका श्रमिक तथा कर्मचारीहरूलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खाना र बासको व्यवस्था गर्ने प्रबन्ध मिलाइ निर्माण कार्य सञ्चालन गर्न पाइने छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले आवश्यक सेवाको लागि सीमित कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न पाउने छन् । सकेसम्म अनलाइन प्रविधि अवलम्बन गरी वर्क फ्रम होम पद्धतिबाट लागु गर्न प्रशासनले आग्रह गरेको छ ।

कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । कास्की प्रशासनले नयाँ भेरिअन्ट सहितको कोभिड १९ को संक्रमण दर र मृत्युदरमा केही कमी आएको भएता पनि स्थिति अपेक्षाकृत नियन्त्रणमा आई नसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर असार ७ गते मध्यरातसम्म कायम निषेधाज्ञाको अवधि एक साता थप गरी असार १५ गतेसम्म पुर्‍याएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button