गण्डकीसमाचार

कालीगण्डकी डाइभर्सन नरोकिए सङ्घर्षमा उत्रिन्छौ: मुख्यमन्त्री पोखरेल

गण्डकी खबर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको भावनालाई कुल्चेर

कालीगण्डकी डाइभर्सन योजना शुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताउनुभएको छ ।

विश्व हिन्दू महासङ्घसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट आइतबार ध्यानाकर्षण पत्र बुझ्दै उहाँले केन्द्र

सरकारसँग गरेको आग्रह पालना नभएमा र प्रदेशको आवाजको सुनुवाइ नभएमा सङ्घर्षमा उत्रन तयार रहेको बताउनुभयो ।

“प्रदेशको भावनाविपरीत जाने प्रयास भएमा हामी सहेर बस्दैनौँ, यहाँका सम्पूर्ण नागरिकलाई उतारेर भए पनि योजना सफल हुन दिँदैनौँ”, उहाँले भन्नुभयो ।

प्राकृतिक स्रोतको बाँडफाँटलाई ख्यालै नगरी संविधान मिच्ने र सङ्घीयतालाई कमजोर बनाउने खेलका

रूपमा यो कार्य रहेको उहाँको भनाइ थियो । उहाँले रुपन्देही र कपिलवस्तुको जमीन सिँचाइ गर्नका

लागि राप्ती र तिनाउको पानी पर्याप्त रहेको भन्दै उहाँले कसैको निहित स्वार्थका लागि यो योजना अघि सारिएको उल्लेख गर्नुभयो ।

डाइभर्सन आयोजनाका बारेमा साझा धारणा बनाएर अघि बढ्न प्रदेश सरकारले सोमबारका लागि सर्वपक्षीय बैठक डाकेको छ ।

राजनीतिक दल, जनप्रतिनिधि, उद्योगी व्यवसायी नागरिक समाजका अगुवालाई बैठकमा डाकिएको छ ।

कार्यक्रममा सरकारका प्रवक्ता तथा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार

खड्काले परियोजनाको लगानी र त्यसबाट हुनसक्ने लाभका बीचमा कुनै तालमेल नै नमिलेको बताउनुभयो ।

प्रदेश सरकार यो योजनाका बारेमा प्रष्ट रहेको उल्लेख गर्दै उहाँले सांस्कृतिक, पर्यटकीय, आर्थिक र

राजनीतिक महत्वसमेत बोकेको कालीगण्डकीमाथि अहिले बेमाइनीपूर्ण काम हुन लागेको बताउनुभयो ।

 

अहिले भनेजसरी तिनाउमा पानी मिसाउने हो भने हिउँदका बेलामा देवघाटमा पानी नै नहुने भन्दै उहाँले

योभन्दा पहिला देवघाटलाई बचाएर नवलपुरको जमीनमा सिँचाइ हुने गरी परियोजना निर्माण भए पनि

त्यो कार्यान्वयनमा आउन नपाउँदै कालीगण्डकी तिनाउतिर मिसाउन खोजिएको आरोप लगाउनुभयो ।

कालीगण्डकी तिनाउतिर लैजाँदा चितवन राष्ट्रिय निकुञ्जसमेत प्रभावित हुने र त्यहाँ रहेका गोही घडियालजस्ता जन्तु सङ्कटमा पर्ने उहाँको भनाइ छ ।

प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस नवलपुरका सभापति विष्णुप्रसाद लामिछानेले परियोजनाका बारेमा

शुरुदेखि नै स्थानीय तहबाटै विरोध हुँदै आउँदासमेत केन्द्र सरकारले बेवास्ता गरेको बताउनुभयो ।

प्रतिनिधिमण्डको प्रतिनिधित्व गर्दै पूर्वसांसद एवं कालीगण्डकी संरक्षण अभियानका अगुवा शङ्कर

पाण्डेले संसारभरका तीन अर्बभन्दा बढी हिन्दू धर्मावलम्बीको आस्थाविपरीत हुन लागेको यो काम पर्यावरणीय दृष्टिकोणबाट समेत हानिकारक रहेको भनाइ राख्नुभयो ।

केदारेश्वर महादेव मणि सेवाश्रम समितिका पीठाधीश डा लेखनाथ आचार्य, राष्ट्रिय ब्राह्मण समाज तथा

प्राज्ञसभाका अध्यक्ष डा नारायण अधिकारी, विश्व हिन्दू महासङ्घका केन्द्रीय उपाध्यक्ष शङ्कर खराल,

विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मी, कालीगण्डकी बचाउ अभियानका

अभियानकर्मी कुलराज चालिसेलगायतले समस्त हिन्दूको आस्था एवं कालीगण्डकी सभ्यताको मर्ममाथि

प्रहार गर्न खोजिएको बताउँदै वातावरण विनाश र जैविक विविधता खलबल्याउने अधिकार कसैसँग नभएको धारणा राख्नुभयो ।

यो पनि- प्रदेश नं २ मा ८४९ वटा सीमास्तम्भ नै गायब..

प्रदेश नं २ को भारतसँग जोडिएको सीमा क्षेत्रमा रहेका ८४९ वटा सीमास्तम्भ हराएका छन् ।

प्रदेश २ को आठ जिल्लाअन्तर्गत भारतीय सीमासँग

जोडिएको पूर्वको सप्तरी गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरीसम्म ४६४ किलोमिटर क्षेत्रमा

रहेका चार हजार २७ सीमास्तम्भमध्ये ८४९ वटा हराएका हुन् । सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी

प्रदेश नं २ बर्दिबासका अनुसार प्रदेश २ को नेपाल–भारतबीच सीमा समस्इा ज्यूँका त्यूँ रहेको छ ।

बाहिनीका अनुसार प्रदेश २ को आठ जिल्लामा रहेका चार हजार २७ सीमास्तम्भमध्ये साबुतका दुई

हजार ६४ सीमास्तम्भ रहेको, ७०४ वटा मर्मत गर्नुपर्ने, ३१९ वटा पूर्णरूपमा निर्माण गर्नुपर्ने, ९१ वटा

सीमास्तम्भ खोलाले बगाएको र ८४९ सीमास्तम्भ हराएकाले दशगजामा समस्या देखिएको छ ।

भारतीय पक्षले नेपाल–भारतको दशगजा क्षेत्रमा घर, टहरा बनाएर बसोबास गर्ने र गाई गोरु बाँध्ने

गरेकाले नेपाल–भारत सीमाक्षेत्र छुट्याउन समस्या भएको भन्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक

चन्द्रप्रकाश गौतमले राससलाई भन्नुभयो, “हराएका सीमास्तम्भका कारण दशगजा क्षेत्रमा देखिएको

समस्या समाधान गर्ने भनेर भारतीय समकक्षीसँग बेलाबेलामा कुराकानी भइरहेको छ ।” प्रदेश २ को

आठ जिल्लाामध्ये कतिपय जिल्लामा सीमावर्ती दशगजा क्षेत्र मिचेर भारतीय नागरिकहरूले खेतीपाती

गरेका, घर टहरा बनाएर गाईगोठ बनाएका र बसोबास गरिरहेका समेत सार्वजनिक भएको छ ।

सिरहाको इनर्वा टोलमा भारतीय नागरिक दशगजा अतिक्रमण गरी कटेरा निर्माण गरेर बसिरहेका छन् ।

माडरस्थित लचका टोलको दशगजाभित्र भारतीय नागरिकले जग्गा अतिक्रमण गरी खेतीपाती गर्ने गरेको,

लग्दी गोठ टोलमा पूरै दशगजा क्षेत्र अतिक्रमण गरेको, लग्दी गदीयानीदेखि सन्हैठा गाउँसम्म दशगजा

क्षेत्र नै अतिक्रमण गरी खेतीपाती गर्ने गरेको, इनर्वास्थित अभय नगरदेखि ठाडीसम्म भारतीय पक्षले

दशगजा क्षेत्रमा घर टहरा बनाएर बस्ती बसालेको र ठाडीमा भारतीय भन्सार कार्यालय अफिस राखेको छ ।

सिरहाकै लग्दीगोठमा सीमास्तम्भ नभएपछि दशगजा क्षेत्र मिचेर करिब ५० भारतीय घरपरिवार बस्दै आएका छन् ।

बरियारपट्टी लदनियाँमा रहेको २५३ नम्बरको सीमास्तम्भ सात मिटर नेपालतर्फ भारतीय पक्षले सारेर नेपाली भूमि अतिक्रमण गरेको छ ।

सीमापारि रहेका भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानहरुले यसप्रति उदासीनता देखाएको र उनीहरुले नै नेपाली भूमि अतिक्रमण गरेको बरियापट्टीका स्थानीयवासीको आरोप छ ।

यसैगरी धनुषाको पश्चिमी सीमामा रहेको महिनाथपुरमा समेत भारतीय पक्षले दशगजामै माटो खसालेर अतिक्रमण गरेको छ ।

यसरी प्रदेश २ को आठ जिल्लाअन्तर्गत पूर्वमा सप्तरीको गोबरगाढादेखि पश्चिमको पर्सा जिल्लाको ठोरी

गाउँसम्म ४६४ किलोमिटंर सीमा क्षेत्रलाई छुट्याइएको सीमास्तम्भमध्ये ८४९ सीमास्तम्भ हराएपछि सीमा सुरक्षालाई लिएर कतिपय सवाल उठिरहेको स्थानीयवासी बताउँछन ।

सिरहा र धनुषामा मात्र होइन यो समस्या प्रदेश २ को आठ जिल्लामै रहेको देखिन्छ ।

स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सम्बन्धित निकायको टाउको दुखाइ बनेको नेपाल भारतबीच

देखिएको सीमा समस्यालाई दीर्घकालीन समाधानतर्फ दुवै देशका सरकार गम्भीर हुनुपर्ने जानकारहरुको भनाइ छ ।

‘जिपिएस सिस्टम’बाट कहाँ कहाँ सीमास्तम्भ छन् भन्नेबारे वैज्ञानिक सीमाङ्कन हुनुपर्ने सीमाक्षेत्रका बासिन्दाको माग छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button