
गण्डकी, २२ असार : गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा सुवास अधिकारी नियुक्त हुनुभएको छ ।
अधिकारीलाई आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले सोमबार सपथ गराउनुभयो ।
आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि
तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराउनुभएको हो ।
सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, मन्त्रालयका सचिव लगायत सहभागी हुनुहुन्थ्यो ।
अड्तीस वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि गर्नुभएको छ ।
उहाँले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ
चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गर्नुभएको छ ।
अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसक्नुभएको छ । रासस