गण्डकी खबर । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र चरक मेमोरियल अस्पताल
पोखराका बीचमा स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
नेपालमा पहिलो पटक असोज २ देखि २२ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुने राष्ट्रिय फुटसल
‘ए’ डिभिजन लिगका लागि खेलाडीको उपचार सम्बन्धमा एन्फा र चरक मेमोरियल अस्पतालबीच आज सम्झौता भएको हो ।
सम्झौतामा एन्फाको तर्फबाट केन्द्रीय सदस्य एवं स्वास्थ्य समितिका संयोजक निरज खड्गी र
एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङ तथा अस्पतालको तर्फबाट निर्देशक रामचन्द्र रेग्मी र म्यानेजर प्रदीप शर्माले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार राष्ट्रिय फुटशल लिगका खेलाडी, टिम अफिसियल र रेफ्रीलाई
सम्पूर्ण स्वास्थ्य उपचारको सुविधा अस्पतालले उपलब्ध गराउने भएको छ ।
फुटशल राष्ट्रिय लिगमा घाइते हुने खेलाडीको अस्पतालले निःशुल्क
उपचार प्रदान गर्नेछ भने औषधिमा १० प्रतिशत छुट दिने भएको छ ।
त्यसै गरी प्रतियोगिता अवधिभर अस्पतालको मेडिकल टिम खेल मैदानमा खटिने सम्झौतामा उल्लेख छ ।
राष्ट्रिय फुटशल लिगमा देशका सात प्रदेशबाट गरी १० टिमको सहभागिता रहने
फुटशल कमिटीका प्रमुख गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन हुने बताइएको छ । रासस