कास्कीगण्डकीसमाचार

सोंथर बेँसी टारी बजार मेलाको तयारी पूरा

३५ वर्षपछि हुन लागेको सोंथर बेँसी टारी बजार मेला २०७९ को तयारी पूरा भएको छ ।

मेलास्थलको व्यवस्थापन, प्रचारप्रसार, अर्थ व्यवस्थापन लगायतका सम्पूर्ण तयारी पूरा भएको हो । ‘सोंथर बेँसी तथा त्यस क्षेत्रको प्रबर्द्धन, कृषि र पर्यटन’ भन्ने मूल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो । भोलि फागुन १ गतेदेखि शुरु हुने मेला ३ गतेसम्म चल्नेछ । मेलाको उद्घाटन मादी गाउँपालिकाका प्रमुख देवीजङ्ग गुरुङले गर्नुहुने जनाइएको छ ।

उद्घाटन समारोहमा विभिन्न स्थानबाट सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिनेछ । मेला करिब पाँच हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सम्पन्न गर्नका लागि पाँच लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । मेलामा विशेष गरी सोंथर बेँसीलगायत त्यस आसपास क्षेत्रमा उत्पादित कृषि वस्तु तथा पशुचौपायहरुको प्रदर्शनी एवम् बिक्री गरिनेछ ।

त्यस्तै खेलकुद तर्फ वडास्तरीय भलिबल प्रतियोगिता, खुल्ला छेलो-ठेलो प्रतियोगिता, रसी तान्ने प्रतियोगिता, सांस्कृतिकतर्फ खुल्ला सामुहिक नृत्य प्रतियोगिता, खुल्ला दोहोरी प्रतियोगिता, खुल्ला भजन प्रतियोगिता साथै स्थानीय युवा क्लबहरुको ठेटार नाच एवम् चर्चित कलाकारहरुको समेत प्रस्तुति रहनेछन् ।

खेलकुदतर्फ भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः नगद ४० हजार र ३० हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिने छ । त्यस्तै, मादी गाउँपालिका भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थी बीच सोंथर बेँसी विषयक वक्तृत्वकला प्रतियोगिता पनि गरिनेछ । मेलाकै क्रममा नेपाल पर्यटन बोर्डसँग अन्तरक्रिया कार्यक्रम पनि गरिने भएको छ ।

मेलाको लागि मुख्य प्रायोजन मादी गाउँपालिका कार्यालयले गर्ने भएको छ । ३५ वर्ष अघि निकै प्रख्यात रहेको सोंथर बेँसी मेलालाई थप परिस्कृत गर्दै गर्न लागिएको आयोजकको भनाई छ । मादी गाउँपालिकाको वडा नं ८ मा पर्ने नागिधार र पाखुरीकोट गाउँ, वडा नं १० मा पर्ने भाचोक गाउँको संगम स्थल हो सोेँथर बेँसी ।

सोंथर बेँसीमा हाल फार्महाउस एवम् केहि होमस्टे समेत सन्चालनमा रहेका छन् । फार्महाउसमा बसेर नजिकै वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर असला माछा मार्दै आनन्द लिन सकिने त्यहाँका स्थानीयहरुको भनाई छ । त्यस्तै नजिकै टारी खेतहरुमा गोठहरुसमेत रहेकाले गोठमा खीर खाने जस्ता अनुभव लिइ रमाइलो पनि गर्न उनीहरुको अनुभव छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button