कास्कीगण्डकीसमाचार

शुद्ध पिउने पानी नागरिकको अधिकार : मेयर आचार्य

पोखरा महानगरपालिका-१९ पुरुन्चौर स्थित जलकुनी टाकुरा खानेपानी आयोजनाको कार्यालय भवनको शिलन्यास गरिएको छ । भवनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रबार रैकरमा शिलन्यास गर्दै शुद्ध पिउने पानी नागरिकको अधिकार भएको बताएका छन् ।

खानेपानीको उपलब्धता हरेक नागरिकको मौलिक अधिकारको विषय भएको भन्दै प्रमुख आचार्यले अब यसको उपलब्धता मात्र पर्याप्त नभई स्वच्छता समेत महत्त्वपूर्ण हुने बताउनुभयो । “खानेपानी संविधानको मौलिक हकमा राखिएको छ, शुद्ध पिउने पानीको उपभोग गर्न पाउनु हरेक नागरिकको अधिकार हो, प्रमुख आचार्यले भन्नुभयो, अव यसको उपलब्धता मात्र होइन, यो सुद्ध समेत हुनुपर्छ भन्ने अभियानमा हामी छौँ ।”

एक घर एक धारा भए पनि पानीको शुद्धता कायम गर्न सकिएन भने त्यसको उपयोगले केवल रोग मात्रै निम्त्याउने र मानव स्वास्थ्यको क्षयीकरण भई गम्भीर असरहरू सृजना हुने गरेको उहाँले बताउनुभयो । हाल सञ्चालनमा रहेका खानेपानीको आयोजनाहरू समयमा नै सम्पन्न गरी धाराबाटै पिउन मिल्ने गरी सुद्ध खानेपानी उपलब्ध गराउने कुरामा आफूहरू प्रतिबद्ध रहेको उहाँले विश्वास दिलाउनुभयो ।

पोखरा महानगरपालिका क्षेत्रमा वितरण गरिएको खानेपानीको शुद्धिकरणका लागि जाइकासँगको समन्वयमा काम भइरहेको जानकारी दिँदै उहाँले त्यो परियोजना अन्तिम चरणमा रहेको बताउनुभयो । “सहर होस् या गाउँ अव घरघरमा धारा मात्र होइन, धारामा आउने पानी समेत शुद्ध पिउन योग्य पानी आउने वातावरणको सृजना गरिने छ ।” प्रमुख आचार्यले भन्नुभयो । पानीको शुद्धिकरण, मुहानको संरक्षण र पानी वितरणका सम्बन्धमा आफूहरू निरन्तर लागिरहेको उहाँले बताउनुभयो ।

उपभोक्ता समितिका अध्यक्ष माधवप्रसाद पौडेलले खानेपानीको लागि विगतमा निकै दुख झेल्नु परेको सुनाउँदै पछिल्ला दिनहरू भने सहज हुँदै आएको बताउनुभयो । “हिजोका दिनहरूमा यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूका लागि खानेपानी निकै समस्या रहेको थियो, उहाँले भन्नुभयो, तर स्थानीयहरूको सक्रियता र सम्बन्धित निकायको सहयोगले विभिन्न आयोजनाहरू सञ्चालन गरिएपछि अहिले धेरै नै राहत मिलेको छ ।” खानेपानी व्यवस्थापनका लागि कार्यालय भवन आवश्यक रहेकामा त्यो पनि निर्माणको क्रममा रहेकाले यसले पुरन्चौर क्षेत्रको खानेपानी वितरणमा थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बहुउद्देश्यीय भवनका रूपमा निर्माण गर्न लागिएको भवनमा गण्डकी प्रदेश सरकारको समेत लगानी रहेको छ । यस भवनले त्यस क्षेत्रका ४१५ घर परिवार लाभान्वित हुनेछन् । उक्त भवन रैकरमा निर्माण गर्न लागिएको हो  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button