निर्वाचन आयोगले आज साँझ राष्ट्रपति निर्वाचनका लागि अन्तिम नामावली प्रकाशित गर्दैछ । नामावली प्रकाशित भएसँगै भोलिबाट निर्वाचन आचारसंहिता पनि लागू हुने भएको छ ।
आज साँझ ५ बजे प्रकाशित गर्ने राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीमा नेकपा एमालेबाट सुवास नेम्वाङ र नेपाली काङ्ग्रेसबाट रामचन्द्र पौडल नै कायम रहने करिब निश्चितप्राय रहेको छ । दुवै जनाविरुद्ध कुनै उजुरी नपरेको पनि राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको कार्यालयले जनाएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचन आचारसंहितामा विभिन्न शीर्षकमा उम्मेदवारहरुले गर्न पाउने खर्चको विवरणसमेत उल्लेख गरिएको छ । आचारसंहिताअनुसार अनुसार राष्ट्रपतिका उम्मेदवारले कूल चार लाखसम्म खर्च गर्न पाउनेछन् भने खर्चको विवरण चुनावको नतिजा घोषणा भएको ३० दिनभित्र बुझाउनु पर्नेछ ।
ऐनको दफा ६२ अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १ हजार, सवारी साधन र इन्धनमा एक लाख २० हजार, कार्यालय सञ्चालनमा ६० हजार, प्रतिनिधि परिचालनमा ४० हजार, विविधमा २४ हजार, प्रचार प्रसार सामग्री, अन्य प्रचार प्रसार, छापा एवम् विद्युतीय माध्यममा २०/२० हजार तथा ढुवानीमा १५ हजार खर्च गर्न पाउनेछन् । यसैगरी गोष्ठी तथा अन्तरक्रियामा एक लाख र अन्य विविध खर्च २४ हजार गर्न पाइनेछ ।