करिब ६ वर्षको समय, एक प्रदेश सभाको पुर्ण कार्यकाल र चार मुखमन्त्री फेरिएपछि अनन्त: प्रदेश १ ले पायो ‘कोशी’ नाममा प्रदेशसभाबाट दुई तिहाई बढीको सहमति पाएको छ । बुधबार प्रदेश सभा बैठकमा सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी भनेर गरेको प्रस्तावको पक्षमा ८२ सांसदले समर्थन दिएपछि अब प्रदेश १ को नाम कोशी हुने भएको हो ।
कोशी प्रदेश नाम प्रस्ताव गर्दै सतारुढ नेकपा एमालेका सांसद रामबहादुर राना मगरले संसद सचिवालयमा प्रस्ताव दर्ता गराएको थिए । सोही प्रस्तावमा मुख्य विपक्षी कांग्रेस, सत्तारूढ माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले समर्थन जनाएसँगै प्रदेश नामाकरण टुङ्गोमा पुगेको हो । समर्थनको विपक्षमा रहेका नेकपा एकीकृत समाजवादी र जसपाको तर्फबाट ‘किराँत-लिम्बूवान-सगरमाथा’ नाम प्रस्ताव गरिएपनि बहुमतले अस्वीकार गरेपछि उक्त नाम छलफल मै जान सकेन ।
प्रदेशको नामाकरण सम्पन्न गरेसँगै प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशको एक प्रमुख मुद्दालाई किनारा लगाउन सफल भएका छन् । यस अवधिमा प्रदेशमा एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसका राजेन्द्र राई मुख्यमन्त्री भइसकेका थिए भने एक प्रदेशसभाको पूर्ण कार्यकाल सम्पन्न भएर दोस्रो प्रदेशसभाको कार्यकालको दुई महिना बितिसकेको छ ।
१४ जिल्ला र एक सय ३७ स्थानीय तह रहेको कोशी प्रदेशको राजधानी विराटनगर रहेको छ । प्रदेशको सबैभन्दा ठूलो जिल्ला ताप्लेजुङ हो भने सानो जिल्ला तेह्रथुम रहेको छ । प्रदेशको नामाकरण सम्पन्न भएसँगै आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिइएको छ ।