पोखरा २१, चैत । निर्वाचन सम्पन्न भएको झन्डै ११ महिनापछि उच्च अदालत पोखराले पोखरा महानगरपालिका–१८ मा वडाध्यक्ष पदको मत पुन: गणना गर्न आदेश दिएको छ ।
कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले मंगलबार वडा १८ को वडाध्यक्ष पदको मत उच्च अदालतको रोहवरमा वैशाख २० मा पुन: गणना गर्ने फैसला गरेको हो ।
नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार पुस्कल थापाले पुन: मतगणना गर्न पाउनुपर्ने भन्दै दिएको उजुरीको पक्षमा अदालतले यस्तो आदेश दिएको हो ।
गत ३० वैशाखमा भएको स्थानीय तहको चुनावमा एमालेका उम्मेदवार थापाको भन्दा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद तिमिल्सिनाको ३ मत बढी आएपछि तिमिल्सिनालाई विजयी घोषणा गरिएको थियो ।
तर, उतिबेलै खसेको मत भन्दा ९ मत कम गणना भएको र उक्त मत आफ्नो भएको भन्दै पुन मतगणनाको माग राखेका थापाले उच्च अदालत पोखरामा उजुरी दिएका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार तिमिल्सिनाले १६ सय ४३ र थापाले १६ सय ४० मत प्राप्त गरेका थिए ।