कास्कीगण्डकीसमाचार

महेन्द्रपुलमा १ करोडको लागतमा अत्याधुनिक शौचालय बन्ने, मेयर आचार्यले गरे शिलान्यास

पोखरा, २७ चैत्र । पोखराको महेन्द्रपुलमा  करिब १ करोडको लागतमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह बन्ने भएको  छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एनआरएनएको सहयोगमा निर्माण हुने अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृहको सोमबार शिलान्यास गरे  ।

शौचालय सुविधा सम्पन्न होटेलको बराबर हुने आचार्यले बताए  । शौचालयबाट  ग्याँस निकालिने र त्यसको  प्रयोगबाट टिपिकल नेपाली शैलीको चमेना गृह सञ्चालन हुने मेयर आचार्यको भनाई छ । आसपासमा केही चौतारीहरू निर्माण गरिने र  अधिकांश स्थान खुल्ला नै राखिने आचार्यले बताए ।

‘यो शौचालय पोखराका लागि नमुना शौचालय हुनेछ । अत्याधुनिक प्रविधिको प्रयोग मार्फत स्मार्ट शौचालय निर्माण हुनेछ । चमेनागृहसहित महिला दिदीबहिनीहरूका लागि स्तनपान कक्ष र सेनेटरी प्याडको भेन्डर समेत समावेश हुनेछ’, प्रमुख आचार्यले भने ।

महेन्द्रपुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा सुरु हुन लागेको योजनामा  एनआरएनएले ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्ने समझदारी भएको छ  । आगामी  जेठ १५ गते गणतन्त्र दिवसका दिन उद्घाटन गर्ने गरी निर्माण कार्य अघि बढ्ने मेयर आचार्यले बताएका छन्  ।

उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी महानगरको स्वामित्वका पुराना भवनलाई विस्थापित गरी चमेना गृहसहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको उनको भनाई छ  । सार्वजनिक पुस्ताकालय, सार्वजनिक शौचालय र आर्ट ग्यालरी लगायत व्यापारिक सटर रहेका  महानगरको स्वामित्वका भवन केही समय  पहिले महानगरले भत्काएको थियो ।

महेन्द्रपुलको दक्षिण भागमा रहेको जग्गामा भने महानगरले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण  गर्ने बताएको छ  ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button