पोखरा , ११ वैशाख । पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको गुणादीमा दुई यात्रु बस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
दमौलीबाट पोखरा आउदै गरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट जादै गरेको ना५ख २११३ नम्बरको बस सोमबार दिउँसो २:४५ बजे एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी १३ यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका छन् । उनीहरुको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते भएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा व्यास नपा. – ५ पतेनी बस्ने वर्ष ६३ की हिरा बिक, सोही ठाउँमा बस्ने वर्ष ६६ को त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल, म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल घाइते भएका छन् ।
यसैगरी, गोरखा पालुङटार न.पा. –२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउपालिका –१ बस्ने वर्ष १९ की इल्का लिम्बु घाइते भएका छन् । उनीहरू सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ ।