कास्कीखेलकुदगण्डकीसमाचार

‘खेल्छ गण्डकी’ कार्यक्रममार्फत खेलकुद परिषदले महिला भलिबल खेलाडी उत्पादन गर्ने

पोखरा, ०३ जेठ । प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको खेल्छ गण्डकी कार्यक्रममार्फत गण्डकी प्रदेशको महिला भलिबल खेलको विकास अघि बढ्ने भएको छ । परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रम मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढ्ने निधो गरेको हो ।

परिषद्का सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषद्का सदस्य तथा कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै उपलब्ध रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए ।

नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै जानु सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गरिने बताए । आ.व. २०७९/०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ ।

कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीहरूलाई ट्यालेन्ट हन्टको माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवासीय सुविधा सहितको प्रशिक्षण दिइने छ । कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरूलाई पोखरामा नै राखेर छात्रवृत्तिमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ । सो को लागि उच्च मावि शिक्षा परिषद गण्डकी, निजी विद्यालयहरू, निजी क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ ।

खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्त्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसँग आगामी दिनमा सबै खेलहरूका लागि सुरुवात गरिने बताए । उनले भने–“यो कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्त्वपूर्ण र सकारात्मक कार्यक्रम हो । हाम्रो पहिलो ध्यान खेलाडी उत्पादनमा नै हो । महिला भलिबलबाट सुरुवात भएसँगै अन्य खेलहरूलाई क्रमैसँग यस प्रकारका परियोजना अघि बढाउने छौँ ।”

बैठकमा आ.व. २०८०/०८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आ.व २०७९/०८० को बाँकी कार्यक्रमहरू समेत चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button