पोखरा, जेठ ४ । कास्कीको घान्द्रुकमा तेस्रो अन्नपूर्ण म्याराथन तथा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको व्यवस्थापनमा कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा जेठ १७ गतेदेखि २० गतेसम्म उक्त कार्यक्रम हुने भएको आयोजक अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जानकारी दिएको छ ।
कार्यक्रम संयोजक ललित गुरुङका अनुसार तिव्र तयारी गरिएको महोत्सवको हालसम्म ८० प्रतिशत काम सकिएको छ । महोत्समा अन्नपूर्ण म्याराथन प्रमुख आकर्षणको रुपमा रहने उनको भनाई छ । सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमान राखेको अवसर पारेर महिला/पुरुष दुबै विधामा प्रतियोगिता आयोजना गरिने संयोजक गुरुङले बताए । अन्नपूर्ण आधारशिविरबाट शुरु हुने म्याराथन माछापुच्छ्रे आधार शिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु घुर्जुङ, चुइले, कोम्रोङडाँडा, किम्रोङखोला, उरीहुँदै घान्द्रुक आई समापन हुनेछ ।
अल्टिमेट एडभेञ्चर नेपालको मुख्य प्रायोजनामा हुने प्रतियोगिताको पुरुषतर्फको स्पर्धामा प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय हुनेलाई १ लाख, तृतीय हुनेलाई ७५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । त्यस्तै, महिलातर्फ प्रथम हुनेलाई ७५ हजार, द्वितीय हुनेलाई ५० हजार र तृतीय हुनेलाई २५ हजारसहित पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।
महोत्सवको अवसरमा गाउँस्तरीय भलिबल, बास्केटबल, छेलो, रस्साकस्सी, चम्चा दौड, बोरा दौड, घैंटो फुटाउने, म्यूजिकल चेयरलगायतका खेलकुद गतिविधिहरुपनि हुने आयोजकले जनाएको छ । भलिबल र बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ८० हजार र द्वितीय हुनेलाई ५० हजारसहित पदक र प्रमाण पत्र प्रदान गरिने घान्द्रुक होटल व्यवस्थापन समितिका अध्यक्ष तथा स्थानिय व्यवस्थापक विक्रम गुरुङले बताए ।
।
महोत्सवको अन्य आकर्षणहरुमा झाँकी प्रदर्शन, परम्परागत गुरुङ संस्कार र संस्कृतिको प्रत्यक्ष अवलोकन, हर्स राईडिङ गर्दै पर्यटकीय गाउँ घान्द्रुकको अवलोकन, पर्वतीय साहसिक खेल लगायतका विविध कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ ।